जनकपुरधाम - प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम प्रदेश अधिवेशनमा व्यस्त रहेकोले सोमबार बोलाइएको बैठक स्थगित भएको हो।
यसअघि ११ वैशाखमा बोलाइएको प्रदेशसभा बैठक कांग्रेसको आग्रहपछि स्थगित भएको थियो। लोकतन्त्र दिवसको अवसर पारेर पार्टीले सुरु गर्ने भनेको जागरण अभियानका कारण कांग्रेसले त्यसदिन बैठक स्थगित गर्न आग्रह गरेको थियो। तर कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएपछि उसले जागरण कार्यक्रम अघि सारेको छ।
प्रदेशसभा सचिवालयले कांग्रेसको आग्रह र फोरमको प्रदेश अधिवेशनलाई हेरी सोमबार बैठक आह्वान गरेको थियो। तर सोमबारसम्म पनि फोरमको प्रदेश अधिवेशनको टुंगो लाग्न नसकेपछि सूचना टाँस गरेर २० वैशाखसम्म बैठक स्थगित गरिएको छ।
यसअघि ३ बैशाखमा बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त रुपमा अवरुद्ध गरेको थियो। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले संसदीय सर्वोच्चतालाई लत्याउँदै आफ्नो छोरा मेयर भएको नगरपालिकामा बजेट रकमान्तर गरेको, जनता आवास कार्यक्रमको कार्यविधि संघीय कानुनको मर्यादाविपरित रहेको, वीरगंजस्थित वीपी उद्यानबारे प्रदेश सरकारले ठोस निर्णय गर्न नसकेको लगायतका मुद्दा उठाउँदै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए।
चौथो अधिवेशन सुरुभएयता प्रदेशसभाको एउटापनि बैठक बस्न सकेको छैन्। पटकपटक प्रदेशसभा बैठक स्थगित भइरहँदा विधेक पारित हुन सकेको छैन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४