जनकपुरधाम – धनुषाको शहीदनगर नगरपालिकामा जिउँदै जलाएकी २० वर्षीया निर्मला यादवको पनि मृत्यु भएको छ। निर्मलाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममाको सोमबार मृत्यु भएको हो।
यसअघि १६ वैशाखमा जिउँदै जलाइएकी सिरहाको कञ्चन मण्डलको मृत्यु भएको थियो। निर्मलाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सवैलाका इञ्चार्ज प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताएका छन्।
५ वैशाखमा धनुषाको शहीदनगर नवविवाहिता निर्मलालाई पति मुकेश गोइतले शरीरमा मट्टितेल छर्केर आगो लगाएको आरोप छ। घरायसी विवाद हँुदा घरमा कोहि नभएको मौका छोपेर मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टितेल खन्याई आगो लगाएर घरको ढोका बन्द गरेर फरार भएको बताइएको छ।
गाउँलेले निर्मलाको उद्धार गरी उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गराएका थिए। तर जनकपुरमा उपचार सम्भव नभएपछि निर्मलालाई बर्न अस्पताल रेफर गरिएको थियो। निर्मलाको शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको जलेको थियो।
श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोजेको आरोप लागेका मुकेश हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। निर्मलाका बुबा धनुषाको कमलानगरपालिका बस्ने कामे भुसकुलियाले मुकेशविरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्। प्रहरीले भने निर्मलाका पति मुकेशको खोजी कार्य जारी रहेको बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४