बेइजिङ- चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) पनि द्विपक्षीय भेटवार्ता र औपचारिक कार्यक्रममा व्यवस्त हुने भएकी छिन् ।
राष्ट्रपति भण्डारीले सोमबार बिहान बेइजिङको केन्द्रभागमा रहेको थ्येनआनमन स्क्वायरस्थित सहिद स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ। अपराह्न चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ताको कार्यक्रम छ।
सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्। राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने कार्यक्रम छ।
सन् २०१३ मा चिनियाँ राष्ट्राध्यक्ष सीले सत्तारोहण गरेदेखि नै नेपाल भ्रमण गर्ने आशा गरिएको थियो। नेपालका तर्फबाट उनको भ्रमणका लागि निरन्तर प्रयास भइरहेको छ।
साँझ चिनियाँ कम्युनिस्ट पार्टी अनुशासन आयोगका प्रमुख चाउ लचीसँग भेटवार्ता गर्ने तत्पश्चात् चाउद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४