धनगढी – कञ्चनपुरको बेलौरीमा रकम नदिएको भन्दै सशस्त्र प्रहरीले भारतीय काठ तस्करलाई कुटेर छोडेपछि भारतीयले स्थानीयमाथि आक्रमण गरेका छन्।
शुक्रबार राती भारतबाट काठ तस्करी गरेर लुकाउन ल्याउने क्रममा सशस्त्र प्रहरी बल विओपी बेलौरीबाट सिविलमा खटिएको टोलीले देखेपछि रकम असुल्न खोजेको तर नदिएपछि कुटपीट गरेर छाडेको स्थानीयले आरोप लगाएका छन्। स्थानीयका अनुसार राती १० बजेतीर भारतको टाटरगञ्ज जंगलबाट काठ तस्करी गरी बेलौरीमा लुकाउन आएका भारतीय र सिविलमा खटिएका सशस्त्र प्रहरीबीच बेलौरी नगरपालिका–१० मा जम्काभेट भएको थियो। सशस्त्र प्रहरीले उनीहरुबाट रकम असुल्न खोजेको र नदिएपछि कुटपीट गरिएको आरोप लागेको छ।
स्थानीय दमन चन्दले सशस्त्र प्रहरीले काठ तस्करलाई कुटपीट गरेलगतै राती नै भारतबाट आएको झण्डै २०–२५ जनाको समूहले स्थानीयमाथि आक्रमण गरेको बताए। सशस्त्र प्रहरी भागेपछि तस्करहरुले स्थानीयमाथि कुटपीट गरेका हुन्। कुटपीटबाट बेलौरी नगरपालिका–१० का तारा चन्द र हरी थापा घाइते भएका छन्। यता सशस्त्र प्रहरी विओपी बेलौरीका प्रमुख सशस्त्र प्रहरी नीरिक्षक माधव प्रसाद जोशीले सशस्त्रको टोलीसँग तस्कहरुको मुडभेट नै नभएको दावी गरे। सशस्त्र प्रहरीको टोली देखेरै भारतीय काठ तस्कर नआएको जिकिर गर्दै उनले टोली फर्केपछि आएर स्थानीयमाथी आक्रमण गरेको हुनसक्ने बताए।
भारतीय नागरिक मेसु सिंह, शेर सिंह, होसियार सिंहको समूहले भुडाका स्थानीय तारा चन्द २१, हसिश थापा १८ माथी कुटपिट गर्नुका साथै गाउँमा फायरिङ्ग गरेको स्थानीयले बताएका छन्। भारतीय काठ तस्करका रुपमा परिचित उक्त समूहले काठ तस्करीमा शसत्रप्रहरीले सिविलमा गई तस्करलाई कुटी अबरोध गरेको रिसमा तस्करहरुको समूह गाउँमा पसी कुटपिटका साथै फायरिङ्ग गरेको स्थानीयले बताए।
तर, प्रहरीले भने फायरिङ्ग भएको बारे पुष्टी गरेको छैन्। स्थानीयले फायरिङ्ग गरेको बताएपनि सीमा क्षेत्रमा स्थानीय प्रहरीले त्यसबारे अज्ञविज्ञता प्रकट गर्दै फायरिङ्ग बारे आफूहरुले पनि स्थानीयबाटै सुनेको बताएका छन्। घाइते ताराका बाबु राजु चन्दले एक्कासी ठुलो हुलहुज्जतमा नेपाली बस्ती छिरेका भारतीयले आफ्नो छोरा र छिमेकीको छोरा हरिसलाई आक्रममण गर्नुका साथै एक राउड फायर गरेको बताए। उनका अनुसार ताराको टाउकोमा र हरिसको पिट्ठुमा चोट लागेको छ। स्थानीय अस्पतालमा उपचार पछि तारा घरमै छन्।
सीमावर्ती गाउँमा अर्का स्थानीय गणेश थापाले काठ तस्करीमा कुरा नमिलेपछि नेपालीमाथी जाई लागेको बताए। उनका अनुसार भारतीय काठ तस्करले बेलाबेलामा सीमा बस्तीमा ज्यादती गर्दै आएका छन्। खुला सीमा नाका भएका कारण बेलाबेलामा भारतीय पक्षबाट आक्र्रमण कुटपिटका घटना अझै नरोकिएको उनले बताए। घटनाको मुख्य कारण काठ तस्कर, सिमाका काठ उद्योग रहेको स्थानीयको भनाई रहेको छ। नेपालका तर्फबाट तस्करमा संलग्न रहेका काठ उद्योगीहरुले त्यसको जिम्मा लिनुपर्ने स्थानीयले बताए।
नेपाली नागरिक चन्दले कुटपिट गर्ने भारतीय माथी कार्बाहीको माग अघि सारेर भुडा स्थानीय प्रहरी चौकीमा निवेदन दिएका छन्। भारतीयलेसमेत आफ्नो कम्बोजनगर स्थानीय प्रहरी चौकीमा निवेदन दिएका छन्। घटनालाई सुल्झाउन दूवै देशका स्थानीय र प्रहरी अधिकारीले समन्वय गरिरहेका छन्। बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले घटना साम्य पार्नका लागि पहल भइरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४