काठमाडौँ - हामी नारीहरू अधिकांश चाहेर पनि नचाहेर पनि हिंसा सहन विवश छौं समाजमा। मानिसमा जति चेतना फैलिए पनि राज्यमा कडा कानुनी व्यवस्था भए पनि कतिपय ठाउँ यस्ता छन् जहाँ नारीले हिंसा व्यहोर्नैपर्छ। यस्तै ठाउँ हो सार्जजनिक सवारीसाधन। धेरै महिला आफूमाथि भएको हिंसा सहन्छन्। अरूसामु व्यक्त गर्न सक्दैनन्। तर म आज सार्वजनिक सवारीमा भएको भोगोको हिंसाबारे केही लेख्दैछु।
कुरा केही दिनअघिको हो। म नयाँ बानेश्वरबाट बालाजु जाने बसको सेकेन्ड लास्ट सिटमा बसेँ। सँगैको सिटमा एक अधबैंस आएर बसे। उनको बसाइले मलाई असहज महसुुस भयो। उनी यसरी बसे कि उनको कुमले मेरो कम्मरमा छोयो। मलाई अप्ठ्यारो भयो।
गल्तीले हो वा बसाइको समस्या होला भन्ठानें सुरुमा। आफूलाई सहज हुने गरी केही पछाडि हटेँ। एकछिनमा फेरि उनको कुमले मेरो कम्मर छोयो। मैले आफ्नो ब्याग कम्मर साइडपट्टि राखें। यति गर्दा त ती व्यक्तिले मलाई असहज भएको बुझ्नु पर्ने थियो नि। अहँ ! उनले बुझेर पनि बुझपचाए। मलाई असह्य भयो। उनीमाथि जाइलागौं जस्तो लाग्यो। त्यसपछि मैले प्रतिकार गर्ने निर्णय गरेँ। कराएँ। तपाईं राम्रोसँग बस्नुस्, मलाई असहज भयो। अनि उनी केही पर हटे। मैले भोगेको यो घटना पहिलो भने होइन। यसरी मैले प्रतिकार गरेको भने पहिलो थियो।
यो त म आफैंले भोगेको घटना भयो। मैले देखेका यस्ता घटना धेरै छन्। एक दिन साथी मीना तामाङ र म बसमा चढेर भक्तपुरबाट बानेश्वरसम्म जाँदै थियौँ। उनी अन्तिम सिटमा बसेकी थिइन्। म केही अगाडि थिएँ। उनीसँगै एकजना पुरुष व्यक्ति चढे। उनलाई तिघ्रामा कसैले छोएजस्तो लाग्यो। यसो हेर्दा तिनै व्यक्तिले छोएका रहेछन्। उनी सुरुमा केहीबेर हडबडाइन्। उनी बानेश्वर पुगेपछि एक्कासि चिच्याइन्, ‘लाज लाग्दैन यसरी छुन। ल कहाँ कहाँ छुन मन छ, छुनुस्।’ ती व्यक्ति आफ्नो गलत आसय नभएको प्रमाणित गर्ने खोज्दै थिए।
बसमा त्यसरी प्रतिकार गर्दा दाजुभाइ उमेरका पुरुषहरू कसैले साथ दिँदैनन्। आफ्ना लागि आफैं बोल्नुपर्छ। प्रतिकार नगरुन्जेल उनीहरूको मनोबल अझ बढ्ने रहेछ। मीनालाई अब मनोबल बढेको छ। उनी भन्छिन्, ‘अब त गाली होइन, सीधै गालामा चड्कन लाउने हो।’
अर्को घटना। केही दिन चाबहिलमा एक हुल केटा बसमा चढे। म पनि सोही बसमा थिएँ। ती केटाले एक युवतीलाई जिस्काउन थाले। ती युवतीसामु गएर उनीसँग सेल्फी खिच्न थाले। बसमा रहेका कसैले पनि ती युवतीका पक्षमा बोल्न सकेनन्। कारण लागूऔषध सेवन गरेका ती केटासँग लड्न कसैको हिम्मत थिएन।
महिलासँग जबरजस्ती टाँसिएर बस्ने, टाँग फारेर बस्ने, कुम तथा संवेदनशील अंगमा छुन खोज्ने जस्ता घटना सार्वजनिक यातायातमा भइरहन्छन्। तर हामी धेरैजसो प्रतिकार गर्न सक्दैनौं। पीडित हुन्छौं र मनमनै गाली गर्छौं। यो क्रम दोहोरिरहन्छ।
मनोविद् गोपाल ढकालका अनुसार कोही व्यक्ति मानसिक रूपमा बढी यौनावेग भएका हुन्छन्। यस प्रकारको रोगलाई यौन विचलन भनिन्छ। उनीहरू आफूमा गुम्सिएर बसेको यौनइच्छा महिलाका अंग छोएर, यौनांग चलाएर, अपशब्द बोलेर, उछृङ्खल संकेत गरी मेट्न खोज्छन्। सार्वजनिक सवारीमा यात्रा गर्दा महिलाले पनि आफ्नो पहिरन र बसाइमा ध्यान दिनुआवश्यक रहेको ढकालको भनाइ छ। छोटा लुगाले केही व्यक्तिमा निकै चाँडो आवेग ल्याउन सक्छ। यस कारण महिला आफैंले आफूलाई सुरक्षित राख्नुपर्छ।
महिलामा पनि हुन सक्छ यस्तो समस्या
एक वर्षअघिको कुरा हो। म कार्यालयबाट घर फर्कन बस चढेँ। बसको अघिल्लो सिटमा बसेकी थिएँ। बसमा भीड बढ्दै गयो। मेरो नजिकै उल्टो सिटमा एक अधबंैसे पुरुष थिए। भीड मै उनीभन्दा ७–८ वर्ष बढी उमेरकी महिला थिइन्। उनी त्यही पुरुषको अघिल्तिर बसिन्। ती महिलाले बिस्तारै उक्त पुरुषको तिघ्रामा हात लान थालिन्।
ती व्यक्तिले असहज महसुस गरेको देखिन्थ्यो। उनी आफ्नो तिघ्राबाट हात पन्छाउन खोज्दै थिए तर ती महिला पुनः हातले मुर्सान थाल्थिन्। उनको हात भने व्यक्तिका तिघ्रा हुँदै अझ माथि पुग्दै थिए। यो दृश्यले म चकित भएँ। मनोविद् ढकाल भन्छन्, ‘पुरुषको दाँजोमा यौन हिंसा गर्ने महिला धेरै कम हुन्छन्। महिलामा हुने यस्तो यौन विचलनलाई पोलिनोमेनिया भनिन्छ।
सार्वजनिक सवारीमा यौन हिंसा भएमा प्रहरीलाई १०३ मा फोन वा एसएमएस गर्न ट्राफिक प्रहरीका प्रवक्ता जयराम सापकोटाले आग्रह गरेका छन्। उनका अनुसार प्रहरीको ‘क्युआरटिआई’ अर्थात् ‘क्विक रेस्क्वु टिम’ ले जानकारी पाउनासाथ तत्काल ‘एक्सन’ लिन्छ। त्यसैले तपाईंहामी पनि सवारीसाधनमा हुने हिंसा सहेर नबसौं। प्रतिकार हामी आफैंबाट सुरु गरौं। अहिले नबोले कहिले बोल्ले? यहाँ नबोले कहाँ बोल्ने? हिंसाविरुद्ध बोलौं दिदीबहिनीहरू बोलौं!
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४