ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको भोक जगाउने पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको बाटोमा वर्तमान सरकार अग्रसर भएको बताएका छन् ।
राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा अधिकारीले पुर्याएको योगदानको चर्चा गर्दै ओलीले उनले देखेका सपना पुरा गर्न सरकार अग्रसर भएको बताएका हुन् ।
मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे ।
स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो ।
सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।”
एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए । उनीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उनको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४