काठमाडौं – खुलामञ्च अतिक्रमण गरी सटर निर्माण भएपछि सम्पदा संरक्षणका अभियन्ता र नागरिकहरु आन्दोलित बनेका छन्। उनीहरुले बिहीबार काठमाडौं महानगरपालिकासँगको सेटिङमा खुलामञ्च अतिक्रमण भैरहेको भन्दै चर्को नाराबाजी गरे।
प्रदर्शनकारीले खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो।
प्रदर्शनमा उत्रीएकाहरुले भूमाफिया होसियार, मासेर जनताको जमिन उम्किन्छौं कति दिन, जनताले चुनेर जनप्रतिनिधि बनायो खुलामञ्चमा भ्रष्टाचार गन्हायोलगायतका प्ले कार्ड बोकेका थिए। उनीहरुले खलामञ्चमा निर्माण गरिएका सटरसमेत बन्द गराएका थिए।
ठेकेदार कम्पनीले खुलामञ्चमा अहिले ४० वटा नयाँ सटर हालेको छ।
खुला मञ्च बचाउ अभियान्ताले बिहीबार नै काठमाडौं महानगरपालिकामा समेत विरोध गर्दै महानगरको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभाव खड्कीलाई अभियान्ताले ध्यानाकर्षण गराएका हुन्। काठमाडौँ उपत्याकामा रहेका खाली जग्गा भूमाफियाले अतिक्रमण गरेका समाचार विविध सञ्चार माध्यमबाट आएको र खुलामञ्चको खाली जग्गा पनि अतिक्रमण भएको भन्दै उनीहरुले यस विषयमा महानगरपालिकाको ध्यानाकर्षण गराएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४