विराटनगर - गृहमन्त्री रामबहादुर थापाले आतङ्ककारी गतिविधि गर्ने छुट कसैलाई नभएको बताएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा शान्ति सुरक्षामा खलल पुर्याउने छुट कसैलाई नभएको बताए। आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्याउनेलाई सरकारले कानून बमोजिम कारबाही गर्ने थापाले बताए।
विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए। विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उनले बताए।
थापाले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण उसका गतिविधिमा प्रतिबन्ध लगाइएको स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४