बुधबार, साउन २०, २०८३

निगरानी बढेपछि सीमा काटेर ‘बालविवाह’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - गरिबी, अशिक्षा तथा चेतनाको कमीले सिर्जित सामाजिक विकृति प्रदेश २ मा व्याप्त छ। विभित्र विकृति मध्ये दाइजो र बालविवाह प्रमुख चुनौती बन्दै गएको छन् समग्र प्रदेश २ का लागि। सहरी क्षेत्रभित्र केही हदसम्म सुधारोन्मुख अवस्था रहे पनि ग्रामीण परिवेश अझै यस्ता विकृतिबाट उन्मुक्ति भने पाउन सकेको छैन।

बालविवाह र दाइजो अन्त्य गर्न प्रयास नभएका पनि होइनन्। बालविवाह र दाइजो प्रथा रोक्न सरकारले कानुन बनाएको छ भने कतिपय गैरसरकारी संस्थाहरु यस्ता विकृति रोकथाम गर्न निरन्तर सक्रिय छन्। तर हालसम्म न त दाइजो प्रथा नै रोक्न सकेको छ न बालविवाह नै अन्त्य भएको छ, प्रदेश २ मा।

प्रदेश सरकारले बालविवाह र दाइजो प्रथा अन्त्य गर्ने प्रमुख उद्देश्यले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरेको छ। तर प्रदेश सरकारको यो कार्यक्रम पनि केही जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई केही थान साइकल वितरणमै सीमित छ।

बालविवाह र दाइजोजस्ता सामाजिक कुरीतिबाट प्रदेश २ को अन्य जिल्लाझैं जकडिएको छ, सर्लाही। बालविवाहजस्ता सामाजिक विकृतिले सर्लाहीको दक्षिणी भेग जकडिएको अवस्थामा रहेको पाइएको छ। जिल्लाको सहरी भेगमा यसखाले समस्या धेरै नरहेपनि भारतीय सीमासँग जोडिएका ग्रामीण क्षेत्रमा बालविवाह गम्भीर समस्याका रुपमा देखिन थालेको छ।

दाइजो लिनु वा दिनु, बालविवाह, बहुविवाहजस्ता क्रियाकलाप कानुनी रुपले अपराध रहेको भन्दै गैरसरकारी संस्थाहरुले निगरानी बढाउन थालेपछि यस्ता कार्यमा संलग्नहरुले सीमापारिलाई वैकल्पिक उपाय बनाउन थालेका छन्। नेपालभित्र बालविवाह गर्दा पक्राउ पर्ने र कानुनी कारबाही हुने डरका कारण सीमा कटेर उमेर पुग्नुअगावै कतिपय अभिभावकले आफ्नो चेलीको बिहे गर्न थालेका छन्। सीमासँग जोडिएका गोढइता, बलरा, विष्णु गाउँपालिकालगायतका दर्जनौं गाउँमा यस्तो क्रम बढेर गएको छ।

पारि गएर उमेर पुग्नुअगावै बिहे गरे पनि कारबाही हुने डर नरहेकाले पछिल्ला दिनमा यस्तो क्रम बढेर गएको सेभ द चिल्ड्रेनमा कार्यरत हाजरा सबनमले बताइन्। नेपालमा निगरानी बढेपछि सीमा कटेर बालविवाह गर्नेको संख्या बढ्न थालेपछि ठूलो समस्या निम्तिएको उनी बताउँछन्। ‘नपालभित्रै बालविवाह गरे रोकथामका साथै समस्या परेपछि उद्धार गर्न सकिन्छ,’ उनले भनिन्, ‘तर पारि विवाह गरिसकेपछि केही गर्नसक्ने अवस्था रहँदैन।’ ‘सीमापारि बालविवाह गरेका कतिपयले कुरा नमिलेपछि चेलीलाई नेपाल पठाइदिने गरेका छन,’ सबनम भन्छिन, ‘यस्ता घटनामा कानुनी उपाय अपनाउने बाटो नै बन्द हुन्छ। यस्ता घटना विकराल समस्या बनेको छ।’

बालविवाह गर्नैका लागि वास्तविकभन्दा बढी उमेर थपेर जन्मदर्ता बनाउने परिपाटी पनि देखिएको सेभ द चिल्ड्रेन सर्लाहीमा मनोपरामर्शदाताका रुपमा कार्यरत बनिता कार्की बताउँछिन्। कार्कीका अनुसार जनप्रतिनिधिहरुकै मिलोमतोमा उमेर थपेर जन्मदर्ता बनाउने परिपाटी पनि बढ्दो छ। बालविवाह, बहुविवाह, जबरजस्ती करणीजस्ता आपराधिक घटनामा कानुनी उपाय अपनाएर दोषीलाई सजाय दिलाउनुभन्दा बढी समुदायमै बसेर छिनोफानो गर्ने प्रवृत्तिका कारण यस्ता अपराध रोक्न नसकेको कार्कीले बताइन्। सेभ द चिल्ड्रेनको सहयोगले सर्लाहीमा मात्र उनीहरू ७० भन्दा बढी बालविवाह हुनबाट रोक्न सफल भएको कार्कीले जानकारी दिइन्।

बालविवाह, बहुविवाह, जबरजस्तीकरणीजस्ता आपराधिक घटना रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउने उपायबारे जानकारी लिन यस्ता घटनाका सर्लाहीका पीडित प्रदेश प्रमुख, प्रदेश प्रहरी र मुख्य न्यायाधिवक्तासँग प्रत्यक्ष भेटघाट गरेका छन्। एक दर्जनभन्दा यस्ता पीडितहरुलाई उच्चपदस्थ व्यक्तिसँग भेटगर्ने अवसर सेभ द चिल्ड्रेनले अवसर जुटाइदिएको छ।

भेटघाटका क्रममा प्रदेश प्रहरीका प्रवक्ता डीएसपी दानबहादुर थापाले बालविवाह, बहुविवाहजस्ता रोकथाम र पीडकलाई कारबाही गर्न नेपाल प्रहरीले अपनाएको नीतिबारे प्रस्ट पारेका थिए। साथै समाजमा यस्ता घटनाबारे प्रहरीलाई जानकारी गराए तत्काल कारबाही गर्ने थापाले प्रतिबद्धता जनाएका थिए।

एक तथ्यांकअनुसार बालविवाहको दर सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ। बालविवाह अन्त्य राष्ट्रिय सञ्चालको तथ्यांकअनुसार प्रदेश २ मा उमेर नपुग्दै विवाह हुने छोरीहरुको संख्या सबै भन्दा बढी छ।

प्रदेश २ को आठ जिल्ला मध्ये सप्तरीमा सबै भन्दा बढी ८२ प्रतिशत बालिकाको कलिलो उमेरमा विवाह हुने गरेको तथ्यांकमा उल्लेख छ। यसैगरी रौतहटमा ६१ प्रतिशत बालिकाहरुको शिक्षा पाउने उमेरमै विवाह हुने गरेको छ।

बालविवाहको तेस्रो सबै भन्दा बढी समस्या धनुषामा देखिएको छ। सञ्जालका अनुसार नेपाल विश्वमै सबैभन्दा बढी बालविवाह हुने देशमा दोस्रो स्थानमा रहेको छ। यहाँ ३९.५ प्रतिशत बालविवाह हुने गरेको छ। जसमा तराईमा ९६ प्रतिशत र पहाडमा ८९ प्रतिशत बालविवाहको दर रहेको सञ्जालले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ।
 
 
बालविवाहमा संलग्न पाँच पक्राउ

जनकपुरधाम - बालविवाह गर्ने गराउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जानकी मन्दिर परिसरभित्र रहेको रामजानकी विवाह मण्डपबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर टोल बस्ने ५० वर्षीय जीवेन्द्र नारायण यादवले आफूभन्दा ३१ वर्ष कम उमेरकी बालिकासँग विवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सिरहाको औरही गाउँपालिका–३ खजनपुर टोल बस्ने हरिनारायण यादवकी १९ वर्षीया छोरी विभाकुमारी यादवसँग विहे गर्न जीवेन्द्र जनकपुर पुगेको प्रहरीले जनाएको छ।

विवाह मण्डप परिसरभित्र बालविवाह भइरहेको जानकारी पाउनासाथ नजिकै रहेको जानकी प्रहरी चौकीको प्रहरीले टोलीले बेहुलीको बाबु हरिनारायण तथा बिहे गर्न लागेका जिवेन्द्रसहित दुवै पक्षका ५ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

पक्राउ परेका सबैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।