हामी बसेको जमिनमुनि कडा चट्टान (बेड रक) हुन्छ । यही चट्टानमाथिको भागलाई पृथ्वीको सतह (क्रेस्ट) भानिन्छ, जसको सबैभन्दा माथिको सतहमा हामी बसिरहेका हुन्छौँ जुन १०० किमिसम्म गहिरो हुन्छ । पृथ्वीमा यस्ता ठूला चट्टान ७ ओटा छन् र यिनीहरुलाई टेक्टोनिक प्लेट भनिन्छ । यी प्लेटहरु एकापसमा जोडिएर बसेका हुन्छन् र कुनै एकअर्कामा खप्टिएका पनि हुन्छन् ।
पृथ्वीको माथिल्लो भूभाग विभिन्न किसिमका टुक्राहरु मिलेर बनेको छ । त्यसलाई प्लेट भनिन्छ । नेपालसमेत रहेको हिमालयन बेल्टको निर्माण इन्डियन प्लेट र युरेसियनसमेत भनिने तिब्बती प्लेट एकअर्कामा जुधेर बनेको छ ।
सानो भएको कारण इन्डियन प्लेटले तिब्बती प्लेटलाई धकेल्न सक्दैन । जसको कारण प्रत्येक वर्ष २ सेन्टिमिटरका दरले भित्र धसिने गर्छ । यसरी भित्र धस्सिरहने क्रममा घर्षणले गर्दा प्लेटहरूको परिधिमा शक्ति सञ्चय भइरहेको हुन्छ । प्लेट-प्लेटबीचको परिधिलाई फल्ट वा चिराहरू पनि भनिन्छ ।
जसमध्ये ९२ वटा सक्रिय फल्टहरू नेपालकै सीमाभित्र पर्छन् । तीमध्ये दुइटा फल्टहरू काठमाडौं उपत्यकाभित्रै छन् ।इन्डियन प्लेट तिब्बतीयन प्लेटमा धसिइरहेको र अथाह शक्ति सञ्चय भइरहेका कारण हिमालयमुनि नेपालमा शक्तिशाली भूकम्प आउन सक्ने पूर्वानुमान छ।
नेपाल यस्तै २ ओटा प्लेटको संगममा पर्छ । युरोसियन र इन्डियन प्लेटको बीचमा भएको नेपाल भूकम्पको हिसाबले अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा पर्दछ । इन्डियन प्लेट युरोसियन प्लेटको मुनि धस्सिएर बसेको हुँदा हिमालय बनेको हो ।
यो धस्सिने र बाहिरिने क्रम दिनदिनै जारी रहन्छ । यी २ प्लेटबीच पनि बेलाबेलामा हलचल पैदा हुन्छ । यो हलचल पैदा हुनुको मुख्य कारणचाहिँ दुवै चट्टानमा इनर्जी पैदा हुनुले हो । यसमा जमिनमुनि हुने तातो लेदोको हलचल पनि उत्तिकै बराबरको कारक हुन सक्छ ।
भूकम्पले गर्दा २ किसिमको तरङ्ग पैदा गर्छ एउटा जमिनसँग दायाँबायाँ र अर्को जमिनको तलमाथि । दायाँबायाँ आउने तरङ्गभन्दा तलमाथि आउने तरङ्ग बढी हानिकारक हुन्छ । किनकि यसले भवनलगायतका संरचनाको जग कमजोर पारिदिन्छ । भूकम्पको केन्द्र भन्नाले हलचल सुरु भएको ठाउँको ठीक माथिको जमिनको भागलाई भनिन्छ जसमा तलमाथि गर्ने तरङ्ग बढी हुने गर्छन् र खतरनाक हुने गर्छ ।
२ ओटा प्लेटबीचको हलचल सन्तुलनमा आउन पनि समय लाग्छ । सामान्यतया भूकम्पपछि यी प्लेटहरु फेरि सन्तुलनमा आउन चाहन्छन्, जसका कारण पटक-पटक भूकम्प जाने गर्छ । ठूलो भूकम्पपछिको कम्पन पहिलाको जस्तो बलियो हुँदैन । तर यो क्रम प्लेट सन्तुलनमा नआएसम्म चलिरहन्छ । त्यसैले ठूलो भूकम्पपछि साना-साना भूकम्प आउनु सामान्य घटना हो ।
भूकम्प होरिजेन्टल र भर्टिकल वा सतही र गहिराइ दुवै प्रकृतिको हुन सक्छ । सतही भूकम्प पृथ्वीको माथिल्लो तहबाट प्लेटहरूको हलचलले गर्दा हुन्छ । प्लेटहरू टुक्राटुक्रामा छुट्टिनु र यसले गति पाउनुमा पृथ्वीको सतहमुनि चिसो र तातोबीचको तापक्रमको फरक र यसकै कारणले बहने ‘कन्भेक्सन करेन्ट’ लाई नै प्रमुख कारण मान्न सकिन्छ । यसैगरी पृथ्वीको गहिराइमा अधिक तापक्रम र दबाबका कारण चट्टानहरूको स्वरूप परिवर्तन हुने क्रममा हुने असन्तुलनका कारणले पनि भूकम्प जाने गर्दछ।
वैशाख १२, २०७२ कम गते गएको ७.८ रेक्टर स्केलको भूकम्पको मुख्य झड्का काठमाडौं र पोखराको बीच भागमा थियो । यो धक्काबाट काठमाडौंभित्रबाट करिब १ सय किमिसम्म चट्टानहरू चिरिएको अनुमान गरिएको छ । राजधानीका कतिपय स्थानमा धाँजासमेत फाटेको छ ।
काठमाडौं उपत्यका करिब १ सय २० किमि लम्बाइ र ६० किमि चौडाइ प्लेटमाथि रहेको र ३० सेकेन्डको मुख्य कम्पनमा यो प्लेट ३ मिटर पर सरेको भन्ने विज्ञहरूको भनाइ छ । हालसम्म गएको मुख्य भूकम्प र पराकम्पनहरूको उद्गम स्थानलाई हेर्दा करिब १ सय ७० किमि पूर्व-पश्चिम र ७० किमि उत्तर-दक्षिण क्षेत्रफलमा सीमित गर्दै नेपालको मध्य क्षेत्र हुँदै क्रमशः पूर्वतिर दोलखासम्म पुगेको देखिन्छ ।
जति ठूलो स्केलमा भूकम्प जान्छ, त्यही हिसाबले चट्टानहरू चिरा पर्ने तथा छुट्टिने प्रक्रिया अघि बढ्ने हुनाले नेपालको मध्य र पूर्वी क्षेत्रमा रहेको चट्टानमा बढी नै चिराचिरा परेको अनुमान गर्न सकिन्छ । भूकम्पको विगत र वर्तमान केलाउँदा भूकम्पको पुनरावृत्ति ८१ वर्षभन्दा कम हुने तथा पछि आउने भूकम्पको स्केलसमेत कम हुने अनुमान गरिएको छ ।
काठमाडांै उपत्यका खाल्डोका उत्तर र दक्षिणमा कडा चट्टानहरूबाट बनेका पहाडहरू छन् । भूकम्पीय तरंगहरूले यहाँको जमिन हल्लाउनासाथ ती तरंगहरू यही खाल्डोमा मात्र सीमित हुन गई तरंगको माप झनै ठूलो हुने हुँदा भूकम्पीय दृष्टिले काठमाडौं निकै जोखिमयुक्त रहेको देखिन्छ।
काठमाडौं नजिकै रहेको ककनी क्षेत्रसँग तुलना गर्दा भूकम्पीय तरंग त्यहाँको तुलनामा काठमाडौंमा छ गुणासम्म बढी हुने एक अध्ययनले देखाएको छ । भूकम्प जाँदा जमिन हल्लिन पुगी जमिनमुनिको पानी र माटो मिलेर दलदले माटोमा परिणत हुन्छ र घरहरू पूर्ण तथा आंशिक रूपले भासिने खतरा पनि उत्तिकै हुन जान्छ । यस प्रकारले हेर्दा सिंगो नेपाल, त्यसमा पनि काठमाडौं खाल्डो भूकम्पीय दृष्टिकोणले अति नै संवेदनशील मानिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४