जनकपुरधाम – बुधबार बोलाइएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ। बुधबार अपरान्ह ३ बजे बोलाइएको प्रदेशसभा बैठक नेपाली कांग्रेसको आग्रहपछि स्थगित भएको हो।
लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले सुरु गर्न लागेको राष्ट्रव्यापी जनजागरण अभियानलाई हेर्दै कांग्रेसले मंगलबार बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो।
जनजागरण अभियानका कारण आफूहरुले बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयलाई आग्रह गरेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए। तर कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन भएपछि तत्कालको लागि जनजागरण अभियान स्थगित भएको उनले बताए।
सोही आग्रहअनुसार बुधबार बस्ने बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। यसैगरी प्रदेश सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमको आगामी १३ र १४ गते हुने प्रदेश २ अधिवेशनका कारण १६ चैत २ बजेसम्म बैठक स्थगित भएको सचिव यादवले बताए।
यसअघि ३ बैशाखमा बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त रुपमा अवरुद्ध गरेको थियो। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले संसदीय सर्वोच्चतालाई लत्याउँदै आफ्नो छोरा मेयर भएको नगरपालिकामा बजेट रकमान्तर गरेको, जनता आवास कार्यक्रमको कार्यविधि संघीय कानुनको मर्यादाविपरित रहेको, वीरगंजस्थित वीपी उद्यानबारे प्रदेश सरकारले ठोस निर्णय गर्न नसकेको लगायतका मुद्दा उठाउँदै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४