बुधबार, साउन २०, २०८३

लोकतन्‍त्र विशेष : कर्फ्यू तोडेको त्यो दिन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नागरिक अगुवाको अनुभव

राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध २०६२ साल चैत २४ गतेदेखि तत्कालीन सात राजनीतिक दलले निर्णायक आन्दोलन थाले । यसअघि मंसिरमा सात दल र तत्कालीन विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो । त्यसकै जगमा टेकेर माओवादीले आन्दोलनमा साथ दिँदै थियो भने अन्य राजनीतिक दल सडकमा उत्रिएका थिए । आन्दोलनको पहिलो दिन २४ गते नै सरकारले बिहानैदेखि राजधानीका विभिन्न ठाउँमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको थियो । 

सुरुमा कुनै दलले पनि कर्फ्यू तोड्नुपर्छ भनेर केही निर्णय गरेनन् । नागरिकले शान्तिपपूर्वक हिँड्न पनि नपाउने अवस्था आएपछि हामी नागरिक समाजका प्रतिनिधिहरु दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, लक्ष्मण अर्याललगायत २४ जनाबीच लामो छलफल भयो । जनताको अधिकार रक्षाका लागि चुप लागेर नबस्ने निर्णय भयो । अनि हामी लाग्यौं कर्फ्यू तोड्न निर्मल निवासतर्फ । 

निषेधाज्ञा तोड्दा गोली पनि सहनुपर्ने अवस्था थियो । हामी लोकतन्त्र स्थापनाका लागि गोली खान तयार भयौं । लामबद्ध भएर निर्मल निवास जाने, अगाडि रहेकाले गोली खाने, त्यो भन्दा पछाडि रहेकाले घाइतेलाई बोकेर अस्पताल लैजाने र त्योभन्दा पछाडि रहेकाले मोर्चा सम्हाल्ने योजना बन्यो । एवंरीतले निषेज्ञा तोड्ने योजनासाथ हाम्रो टोली अगाडि बढ्यो । हाम्रो टोली टिचिङ अस्पतालबाट निर्मल निवासतर्फ अघि बढ्यो । हाम्रो जुलुस शान्तिपूर्ण थियो । दायाँबायाँ ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालित थियो । 

हामीमाथि जुनसुकै बेला गोली प्रहार हुन सक्थ्यो । तर हामी डराएका थिएनौं । हतियारसहितका सुरक्षाकर्मीको संख्या बाक्लिँदै थियो । हामी कत्ति पनि विचलित भएका थिएनौं । कर्फ्यू तोड्न सफल भयौं । गोलीचाहिँ ठोकेनन् । केही अगाडि बढेपछि हामीलाई पक्राउ गरियो । अनि ट्रकमा हालेर भक्तपुर दुबाकोटस्थित सशस्त्र प्रहरी शिविरमा लगेर थुनामा राखियो ।

नागरिक समाजले यसरी पहिलो दिन कर्फ्यू तोडेपछि राजनीतिक दलहरूमाथि दबाब पर्‍यो । उनीहरूले झन् आन्दोलन तताउन थाले । हामीलाई थुनामा राखे पनि विभिन्न संयन्त्रमार्फत नागरिक समाज सक्रिय भइरह्यो । पेसागत संघसंस्थाले साथ दिइरहे । 

देशभर आन्दोलनको ठूलो उभार आयो । कैयन् नागरिकले बलिदान दिए । कैयन् घाइते भए । यसरी १९ दिनसम्मको संघर्षपछि २०६३ वैशाख ११ गते तत्कालीन राजाले जनताको अधिकार फिर्ता गरे । हामी पनि मुक्त भयौं । आन्दोलनमा सक्रिय भएका हामी विजयी भएपछि उमंगित भयौं । अब देशमा आमूल परिवर्तन हुन्छ, लोकतन्त्र र मानवअधिकारको रक्षा हुन्छ भन्ने हामीलाई ठूलो भरोसा थियो ।

लोकतन्त्रपछि विद्रोही माओवादी शान्ति प्रक्रियामा आयो । दुई दुई पटकको संविधानसभा निर्वाचनपछि संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन भएर मुलुकले स्पष्ट राजनीतिक दिशा लियो । 



आज लोकतन्त्र स्थापना दिवसका दिन हामी सबै नेपालीमा अपार हर्ष र खुसी हुनुपर्ने थियो । तर हामी निराश बन्न विवश छौं । राजनीतिक दलहरूको गलत गतिविधिका कारण लोकतन्त्र हाम्रा लागि आएको हो र ? भन्ने महसुस भएको छ । लोकतन्त्र त सबैले मिलेर ल्याएको हो नि । तर देशमा राजनीतिक दलका सीमित नेताकार्यकर्ताले मात्र रजाइँ गरिरहेका छन् । आम नागरिकको अवस्था सुध्रिएको छैन । मुलुकमा दुई तिहाइको सरकार रहे पनि भ्रष्टाचारी, माफिया, नाफाखोर तत्त्वहरूको जगजगी छ ।

सबैको आस्थाको केन्द्र न्यायालय थियो । यसले नागरिक अधिकार रक्षा गर्छ भन्ने विश्वास पञ्चायत कालमा पनि थियो । शाहीकालमा पनि न्यायालयमा हस्तक्षेप भएको थिएन । त्यसैले न्यायालयप्रति विश्वास कहिल्यै घटेको थिएन विगतमा । 

वर्तमान संविधानमा धेरै अधिकारको व्यवस्था छ । त्यसैले न्यायालय शक्तिशाली बन्नुपर्ने थियो । अहिले त राजनीतिक प्रभावका कारण जनताले न्याय नपाउने अवस्था छ । जनताले चुनेका प्रतिनिधिले बनाएका संविधानमा कतै कतै छिद्र राखिएका छन् । तिनै छिद्रको प्रयोग गरेर केही व्यक्तिहरूले यसलाई दुरुपयोग गरिरहेका छन् । 

मानव अधिकार लोकतन्त्रको अभिन्न अंग हो । अहिले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्राधिकार कमजोर बनाउने प्रयास भइरहेको छ । विद्यमान ऐन संशोधन गरेर स्वायत्त आयोगलाई महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत जस्तो बनाउन खोजिँदैछ । सरकारको प्रत्यक्ष निगरानीमा राखेर आयोगका गतिविधि मिच्न खोजिँदैछ । आयोगको ऐन संशोधन भएमा मानवअधिकार उल्लंघन गर्नेलाई राज्यले छुट दिनेछ र दण्डहीनता थप बढ्ने प्रबल जोखिम छ । प्रदेश स्तरमा रहेका आयोगका कार्यलयहरु बन्द हुने अवस्थामा रहनेछन् ।

यति हुँदाहुँदै पनि हामी सबैको विश्वास लोकतन्त्रमै छ । राजनीतिक दलहरूमै छ । संसारमा लोकतन्त्र नै उपयुक्त राजनीतिक व्यवस्था हो । कुनै दल र तिनका नेता खराब हुन सक्छन् । भ्रष्टाचारी, नाफाखोरी र माफियातन्त्रबाट घेरिएका हुन सक्छन् । तर लोकतन्त्र खराब हुन सक्दैन । नेता र राजनीतिक दल जिम्मेवारीबाट च्यूत भएर निजी स्वार्थमा लागे भन्दैमा लोकतान्त्रिक व्यवस्थाको विकल्प सोच्न सकिँदैन ।
 
२०४६ पछि पनि नागरिक समाज सशक्त थियो । सशस्त्र कालमा पनि मुलुकमा शान्ति स्थापनाका लागि विशेष योगदान दिएकै हो । लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा नागरिक समाज अग्रमोर्चामै रहेको कुरा जगजाहेर छ । त्यसैले अहिले पनि नागरिक समाज चुप लागेर बस्दैन । हुन त राजनीतिक दलहरूले नागरिक समाजलाई आफ्नो स्वार्थमा प्रयोग गर्दै आएका छन् । 

विपक्षीमा रहँदा नागरिक समाज गुहार्ने र सत्तामा पुगेपछि बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन । तर हामी अहिले पनि विगतमा जस्तै सशक्त बन्न सक्छौं । चुप लागेर बस्दैनौं । दलका नेताहरूको चेत खुलाउन हामी दबाब दिइरहन्छौं, दिइरहनेछौं । हाम्रो भूमिका कमजोर हुने छैन । दलहरूले लिग छाड्नै लागे भनेर सचेत गराउन हामी सक्रिय रहनैपर्छ । किनकि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।