काठमाडौं- आज बैशाख १० गते मंगलतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
आइतबार श्रीलंकामा भएको बम विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ। आईएसले मंगलबार आफ्नो समाचार एजेन्सीमार्फत विस्फोटको जिम्मा लिएको हो।
नेपालमा दशक बढीदेखि धर्म प्रचारमा सक्रिय भएका र नेपालीलाई घरमै पुगेर धम्क्याउने कोरियन पादरी सोङ जे हुनलाइ इटहरी प्रहरीले संरक्षण गरेको पीडितहरुले गुनासो गरेका छन्। यही आठ गते घरमै पुगेर धम्की दिने कोरियन पादरी र उनको उक्साहटमा कुटपिट र धम्की दिनेहरुलाई प्रहरीले उन्मुक्ति दिएको उनीहरुले बताएका छन्।
नेपाली सेनाका पाँच जना महासेनानी सहायकरथीमा बढुवा भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले पाँच जना महासेनानीलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एकजना पक्राउ परेका छन्। चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोकेको कन्टेनर ट्रकमा ७ किलो सुन फेला परेको हो।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वका पोलिटब्यूरो सदस्य तथा मध्य क्षेत्रीय कमान्ड हेमन्त प्रकाश ओली सुदर्शन कारागार चलान भएका छन्। जिल्ला अदालत ललितपुरले मंगलबार हेमन्तप्रकाशसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशसँगै उनी नख्खु कारागार चलान भएका छन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको नौ महिना पुगेपनि राज्यले अझै हत्यारा पत्ता लगाउन सकेको छैन। गत साउन १० गते हत्या गरिएकी निर्मलाको नौ महिनासम्म पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै नागरिक संघर्ष समिति कञ्चनपुरले मंगलबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।
निमोनियाबाट ग्रस्त नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ। ललितपुरको अल्का अस्पतालमा उपचाररतनेता ताम्राकारको मंगलबार दिउँसो ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ।
नेपाली सेनाले सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित रिपुमर्दिनी सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई कारबाही गरेको छ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आन्दोलित भएका स्थानीयवासी र प्रहरीबीच आज झडप भएको छ।
सरकारले १२ अर्व खर्च गरेर १३ हजार शिक्षकलाई बेरोजगार बनाएको अस्थायी शिक्षक भनेर निकालिएका शिक्षकहरुले आरोप लगाएका छन्। वर्षौंदेखि इमान्दारितापूर्वक काम गरेको भएपनि परिक्षाको नाममा सरकारले आफूहरुलाई निकालेको उनीहरुको गुनासो छ।
२०६२ चैत २४ गते सुरु भएको जनआन्दोलन दिनप्रतिदिन चरमोत्कर्षमा पुग्न थालिसकेको थियो। सुरुका केही दिन राजनीतिक दलका नेताकार्यकर्ता मात्र आन्दोलनमा सहभागी भए पनि बिस्तारै सर्वसाधारण, व्यापारी सबै सामेल हुन थाले। कैलाली सदरमुकाम धनगढीमा बिहान र साँझ गरी दुई पटक विरोध जुलुस निस्किन थाल्यो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित सैनिक मुख्यालयको उद्घाटन गरेकी छन्। भण्डारीले मंगलबार आयोजित विशेष समारोहमा अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन्।
नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ। यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न साढे ३ बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तर्राष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।
नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता सुरु भएको छ। वार्ता सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। वार्तामा सरकारकाे तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट पार्टीका संयोजक दिपक बोहराले नेतृत्व गरिरहेका छन्।
भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणको मतदान मंगलबार जारी छ।
नेकपाका महसचिव विष्णु पौडेलसमेत संलग्न देखिएको ललितानिवासको अर्बौं मूल्यको जग्गा हिनामिना प्रकरणमा बाहिर व्यापक चर्चा भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने यसमा मौन देखिएको छ।
देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् ।
बेलबारी नगरपालिका-४ की रमिला राई गत फागुन १७ गते हराइन् । २६ वर्षीया राईको हत्या भएको आशंका भयो । हत्या आरोपमा फागुन २३ गते इलामबाट स्थानीय नेकपा नेता योगेन्द्र गुरुङ पक्राउ परे । बयानमा गुरुङले हत्या स्वीकारे । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
हिन्दु राष्ट्रका पक्षमा चर्को आवाज उठाउँदै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । सरकारले पत्र नै काटेर वार्ताका लागि डाकेपछि आज वार्ता हुन लागेको हो ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । भवनको मंगलबार (आज) राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने भएकी छिन् ।
पुरानो बसपार्कबाट खुल्लामञ्चमा सारिएको बसपार्किङ क्षेत्रमा सार्वजनिक यातायात राख्न रोक लगाइएको छ ।
बलिउड अभिनेता सनी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। भाजपाका अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै सनी भाजपामा प्रवेश गरेका हुन्। केहि दिन पहिले भाजपा अध्यक्ष अमित शाह सनी देवललाई मनाउन उनको निवास पुगेका थिए। सनीले अमितको आग्रहलाई स्वीकारेको बताइन्छ।
दीपिका पादुकोण र रणवीर सिंह साथीको बिहे पार्टीमा सहभागी भएका थिए। यो बिहे मुम्बईमा हुँदै थियो। उक्त बिहेका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखिएका छन्। यीमध्येका एक तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर देखेर सबैले रणवीर सिंहलाई ‘प्रफेक्स’ श्रीमान् भनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४