जनकपुरधाम – अपहरणको झुटो नाटक गर्ने एक जनालाई प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको छ। अपहरणको नाटक गर्ने महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ घर भइ हाल जनकपुरधाम–११ मा बहालमा बस्दै आएका ४० वर्षीय ध्रुवनारायण लाल कर्णलाई प्रहरीले पक्राउ गरेको हो।
विभित्र व्यक्तिसँग लिएको ऋण तिर्न नसकेपछि जनकपुरमा चिया पसल सञ्चालन गर्दै आएका कर्णले अपहरणको नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
वेपत्ता रहेको भन्दै ५ वैशाखमा आफन्तले दिएको उजुरीपछि खोजतलाश सुरु गरेको प्रहरीले कर्णलाई ८ वैशाखमा फेला पारेको थियो। सुरुवाती बयानमा बिहान पसल खोल्न जाने क्रममा मोटरसाइकलमा आएका दुईजनाले अपहरण गरेको बताएपनि पछि उनले अपहरणको नाटकमात्र गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार धेरै ऋण भएपछि अपहरणको नाटक गरेको कर्णले बयान दिएका छन्। बिहान ४ बजे पसल आएर पसलबाट तीन हजार भारु लिई कर्णले आफ्नो भेस्ट च्यातेर साँचो पसलमै फ्यालेर हिँडेका थिए।
बसबाट जटही नाका हुँदै बिहारको जयनगरबाट रेल चढेर कामको खोजीमा उनी दिल्ली पुगेको प्रहरीले जनाएको छ। तर, दिल्लीमा कुनै काम नपाएपछि कर्ण पुनः जनकपुर फर्केका थिए। पैसा दिनेहरुले तकेदा नगरोस भनेर कर्णले अपहरणको नाटक गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४