उर्लावारी - मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आन्दोलित भएका स्थानीयवासी र प्रहरीबीच आज झडप भएको छ।
आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए।
प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जीतबहादुर लावती घाइते भएका छन्। उनको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ। आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन्। सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर नाराबाजी गरिरहेका छन्।
पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४