धनगढी - २०६२ चैत २४ गते सुरु भएको जनआन्दोलन दिनप्रतिदिन चरमोत्कर्षमा पुग्न थालिसकेको थियो। सुरुका केही दिन राजनीतिक दलका नेताकार्यकर्ता मात्र आन्दोलनमा सहभागी भए पनि बिस्तारै सर्वसाधारण, व्यापारी सबै सामेल हुन थाले। कैलाली सदरमुकाम धनगढीमा बिहान र साँझ गरी दुई पटक विरोध जुलुस निस्किन थाल्यो।
आन्दोलनको अगुवाई गर्ने सात राजनीतिक दलको अगुवाइमा २८ गते बिहान क्याम्पसरोडबाट विशाल विरोध जुलुस निस्कियो। यता राज्यपक्षले त्यो दिन आन्दोलनलाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने योजना बनाएर जिल्ला प्रहरी कार्यालयअगाडि काँडे तारबार लगाएर अवरोध गरेको थियो।
हजारौंको संख्यामा उर्लिएको जनसागर राजतन्त्रविरोधी चर्का नारा लगाउँदै अघि बढ्न खोजेपछि सुरक्षाकर्मीको टोलीले लाठी र बुट बजार्न सुरु गर्यो। जिप्रकाको पूर्वतिरबाट जुलुस आइरहेकोमा नजिकै उत्तर दक्षिण नाला र त्यसैमा घेरिएको काँडे तारबार भएकाले सयौं आन्दोलनकारी त्यहीं फसे। सुरक्षा फौजले गोली चलाउनुका साथै लाठी, बुट अश्रुग्यास प्रहार गर्यो। राज्यको बर्बर दमनले एकै छिनमा सयौंको संख्यामा आन्दोलनकारी घाइते बने। त्यही घटनाका सबैभन्दा गम्भीर घाइते भए नारायणदत्त भट्ट।
तत्कालीन कांग्रेस प्रजातान्त्रिकका जिल्ला उपसभापति भट्ट आन्दोलनको अग्रपंक्तिमा थिए। सुरक्षाफौजको दमन सुरु भएपछि उनीमाथि लाठी बुट प्रहार हुन थाल्यो। उनी जिल्ला वन कार्यालयको गेटभित्र छिरे तर सुरक्षाकर्मीले प्रहार गर्न छोडेनन्। कुटाइबाट अशक्त भएपछि उनी त्यहीं ढले तर पनि प्रहार रोकिएन। सञ्चारकर्मी र मानवअधिकारकर्मीको टोलीले प्रहरीको लाठी छेकेर उनलाई जोगाए।
‘सुरक्षाकर्मीको त मलाई मार्ने नै योजना रहेछ, सञ्चारकर्मी र अधिकारकर्मी नजिक भएर म बचेको हुँ’, भट्टले त्यो दिन सम्झिँदै भने। कुटाइबाट उनको दायाँ खुट्टाको घुँडामाथिको हड्डी टुक्राटुक्रा भयो भने टाउको छातीमा पनि गम्भीर चोट लाग्यो।
उपचारका क्रममा भट्ट करिब साढे दुई वर्षसम्म नेपाल र भारतका अस्पतालमा बसे। हड्डीमा रड र किला हालिएका छन्। अहिले पनि उपचारकै क्रममा छन्। भट्टसहित एक सय ८२ आन्दोलनकारी घाइते हुने गरी सुरक्षाकर्मीको दमन भएको ०६२/६३ को जनआन्दोलनको सुदूरपश्चिमकै सबैभन्दा ठूलो घटना हो त्यो। भट्टलाई सुरक्षाकर्मीले विशेष निगरानीमा राखेको जानकारी त उनलाई पहिले नै थियो तर मार्ने नै योजना बनेको सम्बन्धबारे भने आफूले पछि मात्र बुझेको सुनाए। कारण के भने शाहीकालमा नगर निर्वाचनको दिन ०६२ माघ १९ गते धनगढी–१० का २२ वर्षीय होरीलाल रानालाई दिसा गर्न बसेका बेला सेनाले घर नजिकै दिउँसै गोली हानी हत्या गरेको थियो।
सेनाले रानालाई माओवादी भनेर घोषणासमेत गर्यो। तर रानाको परिवार कांग्रेस समर्थित थियो। भट्टको पनि त्यही टोलमा बसाइ हो। हत्या गरिएका रानालाई निर्दोष भएको भन्दै तिनै भट्टले आवाज उठाए र मानवअधिकारवादी, पत्रकार सबैले घटनाबारे उठान गर्यो। फलस्वरुप राना सहिद घोषणा भए। ‘त्यो रिसिबी साँधेर सुरक्षाकर्मीले मलाई मार्ने नै योजना बनाएको रहेछ’, भट्टले भने।
दुई सय ३७ वर्षीय राजतन्त्रीय शासन ढालेर देशमा गणतन्त्र ल्याउन त्यसरी लडेकोमा अहिले भने आफूलाई पछुतो लाग्ने गरेको उनले सुनाए। पहिलो कुरा त जनआन्दोलनमा पूर्ण अशक्त अपांग हुने गरी घाइते भएका भट्टलाई त्यो बेलाको घाइते अपांगता निर्धारण समितिले जम्मा १० प्रतिशत मात्र निर्धारण गर्यो। उनी त्यसविरुद्ध सात वर्षसम्म लड्नुपर्यो।
‘व्यवस्था परिवर्तनका लागि लडियो, जीवन नै बर्बाद गरियो तर अहिलेको अवस्था हेर्दा दिक्दार लागेर आउँछ’, भट्टले भने, ‘हामीले लडेर ल्याएको व्यवस्थालाई नेताहरुले कमाई खाने भाँडो बनाएका छन्।’ २८ गतेको सोही घटनामा सुरक्षाकर्मीको कुटाइबाट एक हप्तासम्म बेहोस हुने गरी घाइते बनेका लक्षिराम आचार्यलाई अहिले जनआन्दोलनको घाइते हुँ भन्न पनि लाज लाग्छ।

हाल राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षसमेत रहेका आचार्य गणतन्त्र आउनुपूर्व ५५ पटक र गणतन्त्र आएपछि दुई पटक हिरासत र जेल बसिसकेका छन्। तर जनआन्दोलनका घाइतेको प्रतिशत निर्धारणमा उनको नाम छैन। समितिले तीन प्रतिशत निर्धारण गरेकोमा उनले अपमान हुने गरी निर्धारण गरिएको प्रतिशतलाई स्वीकारेनन्। उनीभन्दा सामान्य घाइते र घाइते नै नभएकाहरुले बढी प्रतिशतको सुविधा उपभोग गरिरहेका छन्। जसका लागि लोकतन्त्र चाहिएको थियो त्यो वर्गले अनुभूत नै गर्न नपाएको आचार्यको भनाइ छ। जनताले ज्यान फालेर लडेर ल्याएको लोकतन्त्रमा सीमित व्यक्तिले मोजमस्ती गरिरहेको उनको आरोप छ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन नसकेकोमा पीडाबोध हुने भन्दै आचार्यले यसको संस्थागत विकासका लागि निर्णायक आन्दोलन जरुरी रहेको बताए। जनआन्दोलनका घाइते मात्र हैन आन्दोलनमा सक्रिय भूमिका खेल्ने अधिकांश मानिसमा अहिले वितृष्णा जाग्दै गएको छ। जुन उद्देश्यले लडेर व्यवस्था परिवर्तन गरियो त्यो भन्दा फरक ढंगले काम भइरहेको धेरैको बुझाइ छ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले एउटा महाराज फालेर देशमा अहिले हजारौं महाराज जन्मिएको बताए। गणतन्त्र ल्याउनका लागि जनताले निःस्वार्थ गरेको आन्दोलनबाट प्राप्त उपलब्धि सीमित व्यक्तिले मात्र उपभोग गरिरहेको उनको भनाइ छ। तत्कालिन एमालेका कञ्चनपुर अध्यक्ष राजेन्द्र रावलले जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको बताए।