काठमाडौं - सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचका वार्ता बिना निष्कर्ष सकिएको छ। वार्तामा राप्रपाले सरकारसँग हिन्दुराष्ट्र, राजसंस्थालगायतका २२ बुँदामा छलफल हुने बताएको थियो।
सरकारका तर्फबाट वार्तामा बसेका कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेपछि वार्ता निष्कर्षविहिन भएको हो।
वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताए।
राप्रपाका नेताहरुले भने राप्रपाले उठाएका मागका सम्बन्धमा पुनः सैद्धान्तिक छलफल गर्ने सहमति भएको दाबी गरेका छन्। वार्ताको अर्को मिति भने तोकिएको छैन।
सरकारले पत्र नै काटेर वार्ताका लागि डाकेपछि आज वार्ता भएकाे हो। नेपाल सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले वैशाख ८ गते राप्रपालाई वार्ताका लागि पत्र पठाएका थिए। सोही पत्रका आधारमा आज राप्रपा सरकारसँग वार्तामा बसेकाे हो।
सरकारले राप्रपालाई वार्ताको लागि आव्हान गरे लगत्तै राप्रपाले पनि वार्ताको लागि समिति बनाएको थियाे। समितिमा वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापा सहित तीन सदस्यीय वार्ता समिति गठन भएकाे थियाे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४