काठमाडौं – नेपाल सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता सुरु भएको छ। वार्ता सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। वार्तामा सरकारकाे तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल र राप्रपाबाट पार्टीका संयोजक दिपक बोहराले नेतृत्व गरिरहेका छन्।
सरकार र राप्रपाबीचको वार्तामा हिन्दु राष्ट्र, राजसंस्थालगायतका २२ बुँदामा छलफल हुने श्रेष्ठले जानकारी दिए।
सरकारले पत्र नै काटेर वार्ताका लागि डाकेपछि आज वार्ता भएकाे हो। नेपाल सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले वैशाख ८ गते राप्रपालाई वार्ताका लागि पत्र पठाएका थिए। सोही पत्रका आधारमा आज राप्रपा सरकारसँग वार्तामा बसेकाे हो।
सरकारले राप्रपालाई वार्ताको लागि आव्हान गरे लगत्तै राप्रपाले पनि वार्ताको लागि समिति बनाएको थियाे। समितिमा वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापा सहित तीन सदस्यीय वार्ता समिति गठन भएकाे थियाे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४