काठमाडौं – भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणको मतदान मंगलबार जारी छ।
भारतीय निर्वाचन आयोगका अनुसार १५ राज्यका ११७ लोकसभा सिटका लागि मतदान भैरहेको छ। मंगलबारको तेस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै कुल ३ सय ३ सिटका लागि मतदान सम्पन्न हुनेछ।
मंगलबारको निर्वाचनलाई महत्वका साथ हेरिएको छ। तेस्रो चरणको चुनाव सबैभन्दा ठुलो र हाईप्रोफाइल चुनावसमेत हो। तेस्रो चरणको चुनावले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी, मुलायम सिंह यादव, जया प्रदा, बरुण गान्धीलगायत थुप्रै भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवा नेताहरुको भाग्यको फैसला हुने भएकोलेसमेत तेस्रो चरणको निर्वाचनलाई हाईप्रोफाइल चुनाव भनिएको हो।
तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका छन्। भारतीय निर्वाचन आयोगले चुनावका लागि २ लाख १० हजार मतदान केन्द्रको व्यवस्था गरेको छ। यो चुनावसँगै दक्षिणी भारतीय राज्यहरुको चुनाव सम्पन्न हुनेछ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशिर्वाद लिँदै मतदान गरेका छन्। उनले अहमदाबादको रानिपबाट मतदान गरेका हुन्। त्यसअघि आमा हीराबेनको हातबाट प्रसाद ग्रहण गर्दै उनले आशिर्वाद लिएका थिए।
मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मोदीले आफ्नो कर्तव्य निभाउने सौभाग्य प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रहसमेत गरे। मोदीले मतदान गरेको क्षेत्रबाट बीजेपीका अध्यक्ष अमित शाह चुनवी मैदानमा रहेका छन्। यस क्षेत्रबाट लालकृष्ण आडवाणीले नेतृत्व गरिरहेको भएपनि यसपटक भने उनले टिकट पाउन सकेनन्।
सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४