काठमाडौँ- नेपाली सेनाको मुख्यालय जंगी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । भवनको मंगलबार (आज) राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने भएकी छिन् ।
गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति खटिएका थिए ।
नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्नसक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो ।
भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए । उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ ।
अलग/अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ । आवश्यकता अनुसार, छाना (छत)मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङगी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए ।
सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४