बाँके- नेपालगन्ज रंगशाला आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा बढी चासो र केन्द्रको विषय बन्यो। उक्त रंगशालाले नै आठौं राष्ट्रिय खेलकुदको मिति पटक पटक सार्यो। मङ्सिर २१ देखि २९ गतेसम्म सञ्चालन हुने गरी पहिलोपटक मिति तोकिएको प्रतियोगिता यसै रंगशालाका कारण वैशाखमा आइपुग्यो।
खेलकुद सकिनै लाग्दा समेत रंगशाला पूरा हुन सकेको छैन। २५ करोड लगानीमा निर्माण हुन लागेको रंगशालामा जिउँतिउँ गरी वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतियागिताको उद्घाटन भयो। त्यसपछि पनि रंगशालामा निर्माण कार्य भइरहेको छ।

आठौं प्रतियोगिताकै केन्द्र बनेको रंगशालामा पुरुष फुटबलको सेमिफाइनलदेखिको खेल हुने तय गरिएको थियो। तर, कार्यक्रम उद्घाटनपछि जति रंगशालामा खेल्नका लागि निर्माणकर्ताले केन्द्रित हुनुपर्ने थियो त्यति देखिएन। उद्घाटनपछि आयोजक प्रदेश ५ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत वास्ता नगरेको देखियो।
मैदानमा प्रयोग गरिएको दुबो र मैदानको लेबलबारे निकै चर्चा चल्यो। सोही कारण पछि पुरुष फुटबलको सेमिफाइनल खेल गर्ने या नगर्ने भन्ने आयोजक र राखेपबीचमा छलफल चल्यो।
सेमिफाइनल खेल रंगशालामा सञ्चालन गरे दुबो बिग्रिने र मैदानको लेबल पनि नमिलेकाले फाइनल खेल मात्र गर्ने भित्री निर्णय बन्यो। तर, लज्जित बनेको राखेप र आयोजक प्रदेश ५ ले अन्ततः सेमिफाइनलको खेलदेखि नै रंगशालामै गर्ने निर्णय गर्यो। उक्त निर्णय गरुन्जेलसम्म मैदानमा न लाइन नै राखिएको थियो, न त गोलपोस्टको पोल नै।
गोलपोस्टको पोल बाङ्गो
पुरुष सेमिफाइनलका खेलहरु मंगलबार बिहान ७ बजे सुरु हुँदै छ। तर, प्रतियोगिता आयोजनाका लागि अखिल नेपाल फुटबल संघलाई आइतबार ४ बजेर ३० मिनेटमा जानकारी दिइयो। उक्त जानकारीपछि मैदान पुगेको एन्फाको रेफ्रीसहितको टोली साँझ ६ बजे मैदान पुग्यो। ६ बजे पुगेको एन्फा टोलीले राति मोबाइलको बत्ती बालेर पोल गाड्यो। पोल गाड्न यति हतार भयो कि मैदानको पश्चिम भागमा रहेको गोल पोस्टको दाहिने पोल नै मिलेको छैन। दाहिने पोल केही भित्रपट्टि झुकेको छ भने बायाँ पोल केही इन्च बाहिर ढल्केको छ।
मैदानमा काम गरिरहेका एन्फा टोलीले हतार र रातिको कामले गर्दा केही फरक परेको बताए। उनीहरुले भने, ‘हामीलाई बेलुका ढिलो सूचना आयो। अनि हतारहतार मैदान आएर मोबाइको बत्तीको उज्यालोले पोल गाडेका हौँ। बत्ती थिएन।’, उनीहरुले थपे, ‘गाडेको पोललाई निकालेर पुनः राख्न हामीसँग समय छैन। मैदानको पूरै भागमा लाइन राख्न बाँकी नै छ। यो काम गर्न कति समय लाग्छ थाहै छैन।’
मैदान बन्यो खेतको गरा
मैदानको लेबलसमेत मिलेको छैन। अधिकांश भाग खेतजस्तै छन्। एन्फा रेफ्रीहरु लाइन राख्ने काम गरिरहेका छन्। रेफ्रीका अनुसार भर्खरै लाइन राखेकाले अब कुनै हालतमा पनि रोलरको प्रयोग गर्न मिल्दैन। राखेपका इन्जिनियर विश्वामित्र सन्ज्याल भने रोलर लगाउनै पर्ने दाबी गर्छन्। त्यस्तै मैदानको पश्चिमतर्फ गोल पोस्टको पेनाल्टी प्वाइन्टमा सिमेन्टको ढिस्को छ। जुन मैदानको लेबलसँगै मिलेको छ। तर, त्यसलाई निकाल्न कसैले पहल गरेको छैन। ४० लाख खर्च गरेर लगाइएको दुबो आधाभन्दा बढी सुकेको छ। संज्यालले नेचुरल दुबो हुनुपर्ने बताए। उनको भनाइलाई मान्ने हो भने बर्मुडा दुबो भन्दै किन ४० लाख खर्च गरियो भन्ने प्रश्न उठ्न थालेको छ।
रंगशालाको प्याराफिट निर्माणका लागि १८ करोड खर्च गरिएको छ भने मैदानको भित्री भाग र ट्रयाकका लागि सात करोड खर्च गरिएको छ। तर मैदान अझै पनि खेल्न लायक भएको छैन्। फिफा र एएफसीको नियम मान्ने हो भने अझै पनि मैदान लायक छैन।
