काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने बताएका छन्। वुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा केसीले सरकारका खोक्रा भाषण र प्रचारबाजीले मुलुकमा समृद्धि नआउने बताएका हुन्। सरकारले १३ महिना विताइसकेको बताएउँदै उनले यो अवधिमा समृद्धि आउने कुनै संकेत नदेखिएको बताए।
वर्तमान नेकपालाई व्यङ्ग्य गर्दै उनले दल मिलेपनि दील नमिलेको बताए। ‘सत्तारुढ नेकपा दल मिलेपनि दील मिलेको छैन, योगेश जीहरुले त पुरानै एमाले मागीसक्नु भो।’ उनले भने।
लोकतन्त्रको आवरणमा सरकारले सर्वसत्ताबाद र अधिनायकवाद लाद्न खोजेको केसीले आरोप लगाए। ‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गै सक्यो ,अब भोलीका दिनमा, सिंहदरबार, टुडिखेल कसरी सुरक्षीत हुन्छ, जो सुकै भएपनि सरकारले ढृढताका साथ कारबाही गरोस्।’, केसीले भने।
सरकार ३३ केजी सुन, बुढिगण्डकी, वाइडबढी, फोर जी ,बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको उनको भनाइ छ। प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएको आरोप लगाउँदै केसीले भने, ‘गधा धोएर गाइ बन्दैन छर्लङ्गै छ ,सरकार अधिनायकबादको बाटोमा हिडेको छ।’
फरक प्रसंगमा नेता केसीले व्याक्ति भन्दा पाटीर्, पार्टी भन्दा राष्ट्र ठूलो भएको बताए। उनले ठिक समयमा महाधिवेशन हुनुपर्ने भन्दै आउने चैत्र, वैशाख वा जेठमा महाधिवेशन गर्नैपर्र्ने र म्याद थपिए कांग्रेस झन् कमजोर र दुर्घटनामा फस्ने चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४