बुधबार, साउन २०, २०८३

जलिरह्यो घर, सम्झिरहे दमकल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बागलुङ- शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो ।

अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो । खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो ।

आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नु पर्‍यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए । 

क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा बारुणयन्त्र (दमकल) भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे । आगलागीले क्षति पुर्‍याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भए।

नगरपालिकाले दमकल किन्नुपर्ने आजाव उठ्न थालेका छन् । आगलागीको घटनाले पाठ सिकाएर गएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उनका अनुसार समयमै आगो नियन्त्रणमा आएकाले थप क्षति हुन पाएन । बाक्लो बस्ती र पुराना घर भएकाले आगो अन्यत्र फैलिने खतरा थियो । “खानेपानीका पाइप काटेर फोहोरा फालेपछि आगो नियन्त्रणमा आयो”, नगरप्रमुख गेरैले भने ।
    
तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन् । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ । लहरै जोडिएका पुराना घरमा आगलागीको घटना हुँदा बढी जोखिम हुन्छ । मध्यपहाडी लोकमार्ग आसपासमा नयाँ बनेका घरमा भने सहजै दमकल पुग्न सक्छ ।
 
 नगरपालिकाले आगलागी भएको घरमा डेरा गरी बस्ने पाँच परिवारलाई रु दश हजारका दरले राहात उपलब्ध गराएको छ । घरधनी खत्रीलाई पनि यथोचित राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खत्री घर भाडामा लगाएर अहिले वडा नं ६ स्थित चरौँदीको घरमा बस्दै आउनुभएको छ ।

आगलागीले छिमेकी तुलसी साहनीको घरमा पनि क्षति पुगेको जनाइएको छ । आगलागी विद्युत् ‘सर्ट’ हुँदा भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ ५ बजे लागेको आगो दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । शनिबार नै निसीखोला गाउँपालिका–२ बायखोलामा भएको आगलागीमा परी तीन वर्षीय बालक विशाल सुनारको निधन भएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।