कोलम्बो- श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ ।
आइतबार राति थप ७५ जनाको मृत्यु भएसँगै शृंखलाबद्ध विस्फोटमा परि ज्यान गुमाउनेको संख्या २१५ पुगेको हो । विभिन्न आठ ठाउँमा भएको विस्फोटमा परि आइतबार साझसम्ममा २०७ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।
बिस्फोटका कारण अरु करिब ४ सय व्यक्ति घाइते भएका बताइएको छ । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो । चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ ।
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।
यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ ।
सूरक्षा निकायमाथि कारबाहीको माग
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।
टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए। तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अपिल गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ । घटनाको विश्वभरबाट निन्दा भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४