बुधबार, साउन २०, २०८३

लगनशीलताको नमुना : खेल नशा, व्यवसाय रिक्सा चालक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके– लगनशीलता सपनाभन्दा सानो छ। कुनै व्यक्तिका लागि लगनशीलता नै नशा हुँदो रहेछ। यसका साक्षी हुन् जिम्न्यास्टिक खेलाडी स्लाम अलि साईलाई। ३३ वर्षीय अलि आठौं राष्ट्रिय खेलकुदको जिम्न्यास्टिक खेलका सबैभन्दा पाका खेलाडी हुन्।

रिक्सा नचलाई घरमा चुलो बाल्न धौधौ पर्छ उनलाई। तर यति बेला उनी खेलको नशामा चुर्लुम्म डुबेका छन्। अलिलाई १० बर्षको उमेरदेखिको जिम्न्यास्टिकले तानेको हो। प्रदेश नं. ५ बाट जिम्न्यास्टिक खेलाडीको प्रतिनिधित्व गरिरहेका उनले रिक्सा चलाएरै १३ जनाको परिवार पालिरहेका छन्। अहिले अलिलाई परिवारको भन्दा खेलप्रतिको नशाले सताएको छ। ६ वैशाखदेखि सुरु भएको जिम्न्यास्टिकका कारण उनले राम्रोसँग रिक्सा चलाउन पाएका छैनन्। ‘दुईतीन दिन भयो। राम्रोसँग रिक्सा चलाउन पाएको छैन। रिक्सा चलाउन नपाउँदा पन्चर भएको रिक्सा बोकेरै खेल खेल्न आएँ’, अलिले भने, ‘पन्चर बनाउने पैसा छैन। ५ बजे खेल सकिएपछि पन्चर टाल्न जानुपर्छ।’  



अलि बिहान सबेरै उठ्छन् र रिक्सा लिएर बजार जान्छन्। दिनभर रिक्सा चलाएर उनी बेलुका ४ बजेदेखि दुई घन्टाजति जिम्न्यास्टिक प्रशिक्षण लिन्छन्। उनले भने, ‘बिहान सबेरै रिक्सा घरबाट निकालिहाल्छु। दिनभर रिक्सा चलाएपछि बेलुका ४ बजे प्रशिक्षणमा जान्छु। दुई घन्टा प्रशिक्षण गरिसकेपछि राति ८–९ बजेसम्म रिक्सा चलाउँछु।’ लामो सास फेर्दै अलिले भने, ‘विश्राम लिने फुर्सद नै हुँदैन। खेल मेरो नसा बनेको छ। अनि रिक्सा व्यवसाय। यी दुवै मेरा जिम्मेवारी हुन्।’ उनले दैनिक ८ सय जति कमाउँछन्। कमाएको पैसा रिक्सा चार्ज, सर्भिसिङ र घर खर्च ठिक्क हुन्छ।’

उनी २०६५ सालमा काठमाडौंमा आयोजना भएको पाँचौं राष्ट्रिय खेलकुदबाट निरन्तर सहभागी हुँदै आएका छन्। अलिले चौथोपटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। तर उनले कहींकतैबाट सहयोग पाएका छैनन्। ‘मलाई खेलकुदबाट कुनै फाइदा छैन। बरु रिक्सा चलाए दुईचार पैसा बढी कमाउन सकिन्थ्यो बच्चैदेखि रुचि छोड्न सकेको छैन,’ अलिले भने। थुप्रै प्रतियोगितामा सहभागी भए पनि उनले स्वर्ण भने जित्न सकेका छैनन्। 



‘हामीले माटोमा प्रशिक्षण गरिरहेका छौं। कुनै प्रकारको फम र म्याट छैन। जसले गर्दा हामीले सोचेअनुसार प्रदर्शन गर्न सकिरहेका छैनौं’, अलिले भने, ‘हामीले पनि म्याट र फममा प्रशिक्षण गर्न पाएको भए पदक जित्ने थियौं।’ जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिता हुँदा मात्र यस्ता सामान देख्ने गरेको उनले बताए। गतिलो प्रशिक्षण नपाएकाले राम्रो नतिजा आउन नसकेको अलिले बताए। ‘मैले मेडल जितूँ वा नजितूँ। कसैले सहयोग गरून् वा नगरुन्। तर, मैले जीवन खेलमा समर्पित गरेको छु। अन्तिम समयसम्म खेलिरहनेछु’, अलिले भने। हरेक व्यक्तिले आफ्नो सोचलाई सकारात्मक दिशामा अघि बढाउनुपर्छ। किनकि एकपटक कल्पना गरौं त। भोलिका लागि आखिर मरेर लानु के नै छ र ? बरु केही छोडेर जाने पो हो!

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।