काठमाडौं - यतिबेला देशभर विद्यालय भर्ना अभियान चलेको छ, १२ वर्षीय सोनाम तामाङले न पढ्न पाएका छन् न स्कुल पठाउन उत्साहित गर्ने नै कोही छ।
पढ्न रहर हुँदाहुँदै गरिबीका कारण स्कुल जान छाडेर उनी मजदुरीमा लागेका छन्। उनी सवारी मजदुर बनेको दुई वर्ष भयो। अहिले चापागाउँ–लगनखेल रुटमा चल्ने माइक्रोबसमा भाडा उठाउने काम गर्छन्। सबेरै आँखा मिच्दै ड्युटीमा निस्कने उनी राति अबेरसम्म काम गर्छन्।
स्कुल जाने, साथीभाइसँग खेल्ने, अभिभावकको हेरचाह पाउनुपर्ने बेलामा उनी सवारी मजदुर बन्न बाध्य छन्। उनी भन्छन्, ‘हाँस्ने–खेल्ने उमेरमा ज्यानलाई जोखिममा राखेर काम गर्न कहाँ मन थियो र ? बाँच्नका लागि काम गर्न पर्यो नि हजुर !’ उनी आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाएको बताउँछन्। तामाङले भने, ‘मैले काम नगरे घरमा पैसा आउँदैन। बारीमा फलेको अन्नले हामीलाई खानै पुग्दैन। त्यही भएर यो काम गर्नैपर्छ।’
उनी त एक उदाहरण मात्र हुन्। यस्तै धेरै बालबालिका अझै पनि स्कुल नगई श्रममा जोतिइरहेका छन्। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बालबालिकाको संख्या ३०.२ प्रतिशत छ। तीमध्ये १६ प्रतिशत बालबालिका बालश्रममा रहेको केन्द्रीय बालकल्याण समितिको तथ्यांक छ। त्यसमा ३ देखि ४ प्रतिशत बालबालिका कानुनविपरीत जोखिम अवस्थामा छन्। नेपालको संविधान २०७२ को धारा ३९ (४) मा कुनै पनि बालबालिकालाई कारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था छ। तर बालश्रमको अवस्था भने घटेको छैन।
सवारीसाधनमा मात्र हैन होटल, कारखाना, इँटाभट्टा, घरेलु श्रमिक हुनुपर्दा धेरै बालबालिकाको जीवन कष्टकर बनिरहेको छ।
नेपालमा बालश्रम नियन्त्रणका लागि बालबालिका मन्त्रालय, केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति सरकारी निकाय सक्रिय छन् भने सयौं गैरसरकारी संस्थाले बालश्रमको विरोधमा कार्यक्रम चलाउँदै आएका छन्। तर बालश्रमिकको संख्या भने घट्न सकेको छैन।
बालश्रम हटाउन सबै मिलेरका काम गर्नुपर्ने बताउँछन् चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी। उनले भने, ‘धेरै बालबालिका श्रममा जोतिइरहेका छन्। बालश्रम अन्त्य गर्न कुनै संस्थाले पहल गरेरमात्र हुँदैन। समाजका सबै व्यक्ति सक्रिय हुनुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४