काठमाडौ– हिन्दुराष्ट्र सहित सबै अटाउने राजसंस्थाका लागि राप्रपाले फेरि अर्को चरणको आन्दोलन गर्ने भएको छ।
पहिलो चरणको जनसंघर्ष सकिएपछि शनिबार बिहान बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो आन्दोलन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार दोस्रो चरणको आन्दोलनको स्वरुप र रणनीति तय गर्न एउटा कार्यदल बनाइएको छ।
वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले ७ दिन भित्र कार्ययोजना पेश गर्नुपर्नेछ । त्यसपछि आन्दोलनका कार्यक्रम र तालिका सार्वजनिक गरिनेछ।
पार्टीले पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोश्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न कार्यदल बनाइएको श्रेष्ठले नेपाल समयसँग बताए।
दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी जनसंघर्ष अन्तर्गत पूर्व घोषित भोलि बैशाख ८ गते हुने भनिएको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको छ । यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ।
हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपाले आव्हान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४