काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थापना भएको शनिबार दुई वर्ष पूरा भएको छ।
मधेस केन्द्रित विभिन्न ६ वटा दल मिलेर २०७४ बैशाख ७ गते राजपा नेपाल पार्टी गठन भएको थियो।
स्थापना दिवसको अवसर पारेर राजपाले काठमाडौंलगायत जिल्लातहमा समेत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
पार्टी स्थापनाको दुई बर्ष पुगेपनि राजपाले महाधिवेशन भने गर्न सकेको छैन। राजधानीमा आयोजित चियापान कार्यक्रम पछि सञ्चारकर्मीसँग बोल्दै राजपा महासचिव अनिल झाले पार्टी महाधिवेशनमा छिट्टै जाने प्रतिक्रिया दिएका थिए। आवश्यक प्रयाप्त तयारी हुन नसक्दा महाधिवेशन हुन नसकेको उनको भनाई थियो।
उनले पार्टी एकता पछि मुलुकमा नयाँ संविधान आएको र त्यसमा आफूहरुका अधिकार सुनिश्चित नभएकाले त्यसको प्राप्तिका लागि संघर्ष गर्दा महाधिवेशन प्रक्रिया लम्बिएको प्रतिक्रिया दिए। उनले अब विलम्ब नगरी महाधिवेशन गरीने समेत बताएका छन्।
महाधिवेशन नहुँदासम्म अहिले चक्रिय प्रणालीमा तत्कालीन पार्टीका अध्यक्षले नेतृत्व गर्दै आएका छन्। वैशाख पहिलो साताका लागि तय भएको महाधिवेशन पनि पछि धकेलिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४