काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो चीन भ्रमणमा जाने भएकी छिन्। चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी बैशाख ११ गते चीनको राजकीय भ्रमणमा जाने भएकी हुन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा उपस्थिति जनाउनुको साथै सम्बोधन पनि गर्नेछिन्। भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षरसमेत हुने बताइएको छ। वरिष्ठ चिनियाँ नेताहरुसँग पनि राष्ट्रपति भण्डारीले भेटघाट गर्नेछिन्।
राष्ट्रपतिले बेइजिङमा नेपाल र चीनबीचको व्यापारबारे एक संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलकोन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी हुनेछन्।
राष्ट्रपति भण्डारी समकक्षी सी जिङपिङले आयोजना गर्ने भोजमा पनि सरिक हुनेछिन्। यस्तै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा पनि राष्ट्रपति भण्डारीले उपस्थिति जनाउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४