काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसमा आयोजित कार्यक्रम वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरेको छ।
नेपाल विद्यार्थी संघ काठमाडौंले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रम पौडेल समूहका विद्यार्थी नेताले बहिष्कार गरेका हुन्। यस्तै सिटौला समूहले चाबहिलस्थित पशुपति क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ। महामन्त्री शशांक कोइराला भने मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आयोजित कार्यक्रमको मुख्य अतिथि बनेका छन्।
नेता पौडेल सभागृहमा आयोजित कार्यक्रममा उपस्थिति नै नभएपछि उनी निकट विद्यार्थीले कार्यक्रम बहिष्कार गरेको विद्यार्थी नेता मोतीलाल भण्डारीले जानकारी दिए। सभागृहको कार्यक्रममा नेता प्रकाशमान सिंह, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा लगायतका नेता उपस्थित थिए। पौडेल समूहको बहिष्कारपछि सभापति देउवाको निर्देशनमा कार्यक्रम छोट्याएर समापन गरिएको छ।
वर्तमान राजनीतिक अवस्था र नेपाल विद्यार्थी संघको भूमिका विषयक अन्तरक्रिया गर्दै ५० औैं स्थापना देशभर आयोजना गरिएको छ।
प्रतिबन्धित अवस्थामा २०२७ वैशाख ६ गते स्थापना भएको नेपाल विद्यार्थी संघ यतिबेला गुट उपगुटको सिकार बन्दै संगठनविहीनताको अवस्थामा पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४