काठमाडौं – दोस्रो चरणको राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम आज (शुक्रबार) र शनिबार सञ्चालन हुँदैछ। ७७ वटा जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन 'ए' र एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।
सिघ्र कुपोषणको एकिकृत व्यस्थापन कार्यक्रम लागु भएका जिल्लाका पाँच वर्ष मुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम रहेको छ।
कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्योलमा परेका कारण केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने खतरा वढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सफल बनाउन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो।
कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग, समन्वय र प्रचारप्रसारमा सहजीकरण गरी अभियान सफल बनाउन संघीय मामिला तथा प्रशासन मन्त्रालयले सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको छ।
तर यस अघिको कार्यक्रम भने जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा संचालन गर्थ्यो। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४