काठमाडौं : नेपाली सेनाले सैनिक आचार संहिताको प्रभावकारी कार्यान्वयनका ‘आचार संहिता सप्ताह’संचालन गर्न लागेको छ।
राजधानीलगायतक मुलुकभरका ब्यारेकमा आचारसंहिता सप्ताह संचालन गर्न लागिएको हो । नेपाली सेनाले हालै संस्थालाई थप मर्यादित र व्यवसायिक सैनिक आचार संहिता २०७६ जारी गरेको छ।
आचार संहितामा सामाजिक संजालको प्रयोग, आर्थिक कारोबार, भर्ना, बजेट,लैंगिक आचारण, राजनीतिक र अन्य व्यक्तिसँग भेटघाट र सार्वजनिक अभिव्यक्तिलगायतका विषयलाई समेटिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञाननाथ पाण्डेले आचार संहिताको थप प्रभावकारी कार्यान्वयन गर्नका लागि साताव्यापी अभियान सुरू गर्न लागिएको नेपाल समयसँग बताए। यो अभियानले आचारसंहिताको पालना र कार्यान्वयनमा सचेतना बढाउने उनले बताए ।
प्रवक्ता पाण्डेका अनुसार संस्थागत रुपमा सेनाले आचारसंहिता जारी गरेको पहिलोपटक हो। तर सर्कुलर ,आदेश वा परिपत्रका रुपमा यसअघि पनि मुख्यालय वा सरोकारवाला निकायबाट पटकपटक युनिटहरुलाई आचारसंहिताबारे अवगत गराउने काम हुँदै आएको थियो। एउटा संगठित दस्ताबेजका रुपमा पहिलोपटक आचारसंहिता जारी भएको हो।
आचारसंहितामा आफ्नो जाति धर्म क्षेत्रसँग सम्बन्धित आन्दोलनबारे सामाजिक सञ्जालमा वा अन्य प्रकारका प्रचारप्रसार गर्ने अभिप्रायले प्रयोग गर्ने वा उक्त लेख सामाग्री लाइक कमेन्ट र सेयर गर्न नपाइने नियम सेनाले बनाएको छ। कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सेनाको अनावश्यक टिप्पणी तथा गोप्य सूचना चुहाउने काम गरे कारबाही गर्ने व्यवस्था गरिएको छ।
ठेकेदारसँग लिने उपहारलाई बन्द गर्ने विषयलाई समेत सेनाले आचार संहिता महत्वका साथ उल्लेख गरेको छ।आचार संहितामा भनिएको छ,‘ठेकेदारले नेपाली सेनाबाट खरिद गरिएका रासनपानी तथा विभिन्न सामान उपलब्ध गराउँदा कम गुणस्तरको दिने र उपहार व्यवस्था गराउन खोज्दछन्। तसर्थ यस्ता अवाञ्छित क्रियाकलपामा कुनै पनि अवस्थामा संलग्न हुनु हुँदैन।’
आचारसंहितामा सैनिकले कुनै पार्टीको सभा, समारोह, सम्मेलन, प्रदर्शन, अन्तरक्रिया छलफल तथा प्रशिक्षणमा सहभागी हुन पनि पूर्ण रूपमा निषेध गरेको छ।विदेशी नियोगसँग गरिने सबै पत्राचार सेनाको विदेश शाखामार्फत् हुनु पर्ने र यस्ता पत्राचार इमेलमार्फत् गर्दा नेपाली सेनाको आधिकारिक इमेलबाट मात्रै गर्नु पर्ने प्रावधान आचारसंहितामा राखिएको छ।
लैंगिक आधारमा कसैलाई एक्ल्याउने, छुट्याउने वा वास्ता नगर्ने कार्यलाई निरुत्साहित गर्न आचारसंहितामार्फत् निर्देशन दिइएको छ।‘पदोन्नति सरूवा शान्ति सेनाजस्ता अवसरको प्रलोभन देखाई शारीरिक सम्बन्ध स्थापना गर्नु अनैतिक र भ्रष्ट आचरण मात्र नभई यौन दुर्वयवहार हो,’आचार संहितामा उल्लेख छ,‘हरेक कमाण्डरले आफूअन्तर्गतलाई यौनजन्य दुर्वव्यवहार र लैंगिक भेदभावरहित वातावरण बनाउनु कमाण्डरको नैतिक जिम्मेवारी हो।’
तालिमको क्रममा प्राप्तांक ग्रेडिङ र मर्यादाक्रमलाई प्रभावित पार्ने गरी उपहार लेनदेन गर्ने दुबैलाई सजाय दिइने प्रावधान राखिएको छ।शान्ति सेनाबाट फर्केर आउने सैनिकले स्वेच्छामा युनिटलाई सम्झनास्वरूप उपहार ल्याउनु स्वीकार्य भए पनि युनिटहरूले नै बाध्यात्मक नियम बनाई खसी, इलोक्ट्रोनिक सामान, नगद रकम ल्याउने प्रावधान बनाएमा मान्य नहुने आचारसंहितामा उल्लेख गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४