बुधबार, साउन २०, २०८३

चट्याङबाट बच्न के गर्ने ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन- अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।
 
स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गर्नुभएका डा श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए । 

घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन ।
 
घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनेका भनाइ छ । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ । 

उहाँले घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पुर्‍याउन उनले सुझाव दिए । जमीनमुनि सुरक्षित अवतरण गर्नुपर्ने भन्दै उनले करीब आठ फिट गहिरो खाल्डो खनेर तामाको रड वा पातामा जोड्नुपर्ने बताए । खाल्डोमा पहिले कोइला र नुन राख्ने गरे पनि त्यसले पाता बिगार्ने हुँदा त्यसका लागि बनेको छुट्टै रसायन राख्न उनले सुझाव दिए । 
 
चट्याङको फाइन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गर्नुभएका डा पितृभक्त अधिकारी चट्याङ परेको समयमा निकै सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । विदेशको एउटै फुटबल मैदानमा एकै समूहका ११ खेलाडीले चट्याङका कारण ज्यान गुमाउनुपरेको भन्दै उनले सावधानी अपनाउनु नै बच्ने उपाय भएको बताउछन् । 
 
उनका अनुसार घर बाहिर हुँदा खुला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । रुखको नजिक नबस्न, बिजुली र फोनको पोल, अग्ला भवन नजिक पनि नबस्न उनले सुझाए । विद्युतीय सामग्री प्लगमा नजोड्न र ल्याण्डलाइन फोनमा कुरा नगर्न पनि अधिकारीको सुझाव छ । तर मोबाइल फोन भने चलाउन सकिने उनले बताए । 
 
गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने विज्ञको भनाइ छ । खेतमा पानीमा काम नगर्न र पौडी नखेल्न पनि उनको सुझाव छ । घरभित्र बस्दा झ्याल र भित्ता नजिक बस्न नहुने भन्दै उहाँले धाराका पानीमा करेन्ट आउनसक्ने भएकाले पानी नखेलाउन पनि सुझाव दिए । 
 
चट्याङ प्राकृतिक प्रक्रिया हो । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको विज्ञहरुको भनाइ छ । 

इञ्जिनीयरिङ विषय अध्ययन गर्दै गरेका विद्यार्थीलाई पढाउँदै आएका डा शर्मा पृथ्वी र वायुमण्डलमा आउने सूर्यका विभिन्न किरणले पृथ्वी वा वायुमण्डलमा विद्युतीय चार्ज उत्पन्न गराइरहने बताउँछन् । यसरी उत्पन्न विद्युतीय चार्ज असन्तुलित बन्दा त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि चट्याङ पर्ने उनको भनाइ छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।