काठमाडौं- आज बैशाख ४ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
मलेसियाली कम्पनी एक्जिएटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा लाग्ने लाभकर तिर्नका लागि सरकारले सात दिनको समयसिमा दिएको छ। कर छलीविरुद्ध सरकारले चलाएको साहसिक कदम भन्दै यसको भव्य प्रचार पनि गरिएको छ। हालै ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्नका लागि एनसेललाई सूचना जारी गरेको छ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। सरकारले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयको सचिव रहेका थपलियालाई चैत ११ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए।
जनकपुरका ठुला तथा नाम चलेकै होटलमा अखाद्य वस्तु बिक्री वितरण हुने गरेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार जनकपुरमा गरेको बजार अनुगमनको अखाद्यवस्तु फेला परेको हो। आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा जानकी मन्दिरको सामुत्रे रहेको हँसराज मिठाई पसल र मन्दिरको छेउमा रहेको रघुपति मिष्ठान भण्डारमा अखाद्यवस्तु फेला परेको छ। होटलभित्रै अखाद्य वस्तुहरु फेलापरेपछि अनुगमन टोलीले अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेको छ।
पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विष्फोट भएको छ। उद्योगलाई लक्षित गरी बम विष्फोट गराइएको हो। केही व्यक्तिले बोतलमा बारुद भरेर उद्योगभित्र फालेका प्रहरीले बताएको छ।
भारतमा बिहीबार हुने दोस्रो चरणको लोकसभा चुनावका लागि सम्पूर्ण तयारी पुरा भएको भारतीय चुनाव आयोगले जानकारी दिएको छ। बिहीबार १२ राज्यमा ९६ सिटका लागि चुनाव हुन लागेको हो।
नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ। विभागको टोलीले बुधबार निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारवाहीका लागि सिफारिश गरेको हो।
सप्तरीको राजविराजस्थित मुख्य बजारमा बुधबार आगलागी भएको छ। आगलागीबाट राजविराजस्थित शहीद दशन चोकमा रहेका सात पसल जलेर नष्ट भएका छन्।
राजविराजको मुख्य बजारमा लागेको आगो नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो। बिजुली सर्ट भई पशुपति स्टोरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बारा र पर्साका हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले एक करोड रकम सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक कार्यक्रमकाबीच प्रदेश ३ का मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन्। हावाहुरीबाट बारा र पर्सामा जनधनको क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी कार्यक्रमको स्टेज भाँचिएको छ। स्टेज भाँचिदा ४ जना घाइते भएका छन् तर मुख्यमन्त्री भने सकुसल रहेका छन्। डडेल्धुराको अजयमेरु महोत्सवको उद्घाटन कार्यक्रम सञ्चालन भइरहेको बेला स्टेज भाँचिएपछि ४ जना घाइते भएका हुन्। मुख्यमन्त्री भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेका बेला स्टेज भाँचिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पत्रकारमाथि आक्रमण गरेर लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन्।
‘प्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो, नेपाली कांग्रेस प्रेसमाथिको आक्रमण सहन्न।’, बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा देउवाले भने। सबै पत्रकारले कलम चलाए ओली सरकार संकटमा पर्न सक्ने उनले चेतावनी दिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानुन विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई निर्देशन दिएका छन्।
संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनी व्यवस्था भएको भन्दै मन्त्री पण्डितले कानुन विपरित नजान प्रदेश सरकारलाई आग्रह गरे।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो।
नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन्। मल्टिइन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा अब्बल स्थान ल्याएका हुन्। अन्य ५३ नेपाली विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड जितेका छन्।
विवेकशिल नेपाली दलका संयोजक उज्जवल थापासहितका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सूचना तथा सञ्चारमन्त्री मन्त्री गोकुल बाँस्कोटाले सरकारी सम्पत्ति दुरुपयोग गर्ने तथा हडप्नेमाथि कारबाही गर्ने बताएका छन्। रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले बालुवाटार जग्गा काण्डको विषयमा छानबिन भइरहेको समेत बताए। उनले भने, ‘सरकारी जग्गा दुरुपयोग गर्ने जोसुकै भए तापनि कारबाही हुन्छ। ’
ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनमा दुःख व्यक्त गरेको छ। राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले नेपाली पत्रकारिता जगतले एक अग्रज व्यक्तित्व, निष्ठावान र निर्भिक पत्रकार गुमाएको उल्लेख छ। पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले एक कुशल मित्र र शुभेच्छुक गुमाएको उल्लेख छ।
इटहरीको बजार क्षेत्रमा छाडा चौपाया यत्रतत्र भेटिन्छन्। इटहरी पूर्व लाइनको सडक र इटहरीबाहिरका खनार, दुहबी, तरहरा र एकम्बाका बजार क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेको स्थानीयको दुःखेसो छ।
निर्बाध सडक प्रयोगमा जथाभाबी छाडिएका चौपायाले हैरान पारेको बताउँछन् इटहरी–४ का कमल अधिकारी। ‘बिहान बजार गए पनि बाटामा गाइगोरुले बाटो काटेर बाटोमा बसेर हैरान पार्छन्’, अधिकारी भन्छन्, ‘बेलुका सिनेमा हेरेर घर आउँदा त झनै बाटैभरि चौपायाले छेकेर हैरान।’
नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय श्रेष्ठको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आज (बुधबार) बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हो।
सर्वोच्च अदालतका लागि सिफारिस भएका पाँच जनाको न्यायाधीशमाथिको सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उजुरीकर्ताहरूलाई बुधबार छलफलका लागि बोलाएको छ । उजुरीकतासँग छलफलपछि बिहीबार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुनेछ ।
भारतबाट कच्चा पदार्थ आयातमा रोक लागेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको छ। सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा परेको हो।
पशु क्वारेन्टाइन चेकपोस्टले आयातमा कडाइ गरेपछि करिव दुई साता देखि कच्चा पदार्थ बोकेका डेढ दर्जन ट्रक भन्सारमा रोकिएका छन्। पोल्ट्री व्यवसायी विवेक भट्टले चैत २० गतेदेखि क्वारेन्टाइनले पशुपन्छीजन्य वस्तुको आयातमा रोक लगाएको बताए। उनले कच्चा पदार्थको आयातमा पनि भारतीय स्वस्थताको प्रमाणपत्र अनिवार्य गर्दै आयात ठप्प पारिएको बताए।
बुधबारबाट देशैभर तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा हुने भएको छ।
पश्चिमी वायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीन दिन लगातार मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरुका अनुसार बुधबार दिउँसोबाट मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना छ ।
संचारमन्त्री गोकुल बाँस्कोटाले ६८ जना यात्रु लिएर भैरहवाबाट काठमाडौ आउन लागेको बुद्धएयरलाई जबरजस्ती रोक्ने प्रयास गरेपछि उनी थप विवादमा परेका छन् ।
खराब मौसम र संभावित जोखिमबारे जानकारी गराउँदा पनि कुर्नका लागि दबाब दिएपछि बुद्धएयर मन्त्रीलाई छाडेर भैरहवाबाट काठमाडौं आउन वाध्य भएको थियो । खराब मौसम र उाडन असुरक्षाका कारण मन्त्रीलाई कुर्न नसकेको बुद्धएयरले स्पष्ट पारेको छ । मन्त्रीलाई कुरेको भए ६८ जना यात्रुलाई भैरहवामै रोकिनुपर्ने अवस्था रहेको पनि एयरले जनाएको छ ।
कैलालीको धनगढीमा मोटरसाईकलले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारीमा से १ प ५३५० नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री सोही स्थानकी ५० वर्षीया सरस्वती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मङ्गलबार दोहोरो अंकले उकालो लागेको शेयर बजारमा आज (बुधबार) भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ। बुधबार कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए।
कर्णाली प्रिमियर लिग (केपीएल) को विजेताले ५ लाख पाउने भएको छ। बैशाख १२ गतेदेखि २१ गतेसम्म सुर्खेतमा हुने सञ्चालन हुने दोस्रो संस्करणको केपीएलमा दोस्रो हुनेले भने २ लाख पाउनेछ। प्रतियोगिताको म्यान अफ द सिरिजलाई पचास हजार, वेष्ट वलरलाई २० हजार, व्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ३५ सय पुरस्कार दिइनेछ।
इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ। पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ।
भारतीय प्रान्त मध्यप्रदेशको भोपालमा मे १२ तारिखमा हुने लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले साध्वी प्रज्ञा ठाकुरको उम्मेदवारीलाई पक्कापक्की गरेको बताएको छ।
उनी मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं भारतीय राष्ट्रिय कांग्रेसका नेता दिग्विजय सिंहका विरुद्ध चुनावी मैदानमा उत्रिएकी हुन्। यसै निर्वाचन क्षेत्रका लागि राज्यका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता शिवराज सिंह चौहानलाई टिकट दिने भन्ने चर्चा पनि थियो।
भारतको विभिन्न राज्यमा मंगलबार राति बेमौसमको वर्षापछि आएको धूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमकाअनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ।
त्यसैगरी पश्चिम राज्य गुजरातको कैयौं जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ। भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४