जनकपुरधाम – बारा र पर्साका हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले एक करोड रकम सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक कार्यक्रमकाबीच प्रदेश ३ का मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन्। हावाहुरीबाट बारा र पर्सामा जनधनको क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।
चेक बुझ्दै मुख्यमन्त्री राउतले विपद्को बेला सहयोग गरेको भन्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेल र प्रदेशसभालाई धन्यवाद ज्ञापन गरेका थिए। यसैगरी प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दुःख परेको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।
यसैगरी प्रदेश ३ का सांसदहरुले तीन दिन बराबरको तलबसमेत प्रदेश २ सरकारलाई सहयोग गरेका छन्। सांसदहरुको तीन दिनको तलब बराबर ४ लाख ६९ हजार ५० रुपैयाँको चेक प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी हुन्।
गत चैत १७ गते आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो भने पाँच सयभन्दा बढी स्थानीय घाइते भएका थिए। हावाहुरीका कारण झण्डै एक हजार घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४