काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश कुमार थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले थपलियालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
सरकारले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रालयको सचिव रहेका थपलियालाई चैत ११ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए।
बुधबार दिउँसो थपलियाको सुनुवाइ भएको थियो। सुनुवाइपछि समितिका सबै सदस्यको सर्वसम्मतिबाट थपलियाको नाम अनुमोदन भएको संसदीय सुनवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
अनुमोदित भएका थपलियालाई राष्ट्रपति विद्या भण्डारीले सपथ खुवानेछिन्। सपथपछि उनले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नेछन्।
संसदीय सुनुवाइ समितिले समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझाको नाम पनि सर्वसम्मतले अनुमोदन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४