जनकपुरधाम – जनकपुरका ठुला तथा नाम चलेकै होटलमा अखाद्य वस्तु बिक्री वितरण हुने गरेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार जनकपुरमा गरेको बजार अनुगमनको अखाद्यवस्तु फेला परेको हो।
आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा जानकी मन्दिरको सामुत्रे रहेको हँसराज मिठाई पसल र मन्दिरको छेउमा रहेको रघुपति मिष्ठान भण्डारमा अखाद्यवस्तु फेला परेको छ। होटलभित्रै अखाद्य वस्तुहरु फेलापरेपछि अनुगमन टोलीले अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेको छ।
यसैगरी हँसराज मिठाई पसलको कारखानामासमेत टोलीले अनुगमन गरेको छ। मिठाई पसलको कारखानामा किरा लागेको इमली, नेपालमा प्रतिबन्धित सागर गोल्ड पाउडर दुध, हाईड्रो, फिटकिरीलगायतका सामग्री गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।
कारखानाभित्र लुकाएर राखेको अवस्थामा सागर गोल्ड पाउडर दुधको बोरा, हाइड्रोका प्याकेट, रंग, फिटकिरीलगायतका सामग्री बरामद गरी नियन्त्रणमा लिइएको गुण प्रविधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए।
यसैगरी रघुपति मिष्ठान भण्डार र ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्रीलगायतका वस्तुहरु अनुगमन टोलीले नष्ट गरेको छ। ओम बेकरीले उत्पादन गरेको पाउरोटीमा एक दिन अगावैको उत्पादन मिती लेखि बिक्रि वितरणको लागि राखेकोमा अनुगमन टोलीले नियन्त्रणमा लिएको छ।
रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसले संयुक्त रुपमा सञ्चालन गरेको कारखानाको दुध तथा दुधजन्य पदार्थहरुमा अत्याधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाइएकोले नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
यस्तै टोलीले जनकपुरको मदिरा पसलहरुमासमेत अनुगमन गरेको छ। जनकपुरको मिल्स एरियास्थित श्री राम डिस्ट्रिब्युटर्समा प्लास्टिकको बोतलमा मदिरा प्याकिङ्ग गरेको पाइएको छ। प्लास्टिकको बोतलमा पाइएका मदिरा नमूना परीक्षणको लागि पठाइएको छ।
आयोगका सदस्य अन्सारीको नेतृत्वमा भएका अनुगमनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका वीर मगरलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
विद्यालयको छात्रावासमा क्षमताभन्दा बढी विद्यार्थी
जनकपुरको भानुचोकस्थित मदर टेरेसा पब्लिक स्कुलमा क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरिएको अनुगमन टोलीले बताएको छ। विद्यालयले छात्रावासको एउटै कोठामा २० देखि २५ जना विद्यार्थी राख्ने गरेको पाइएको छ। अनुगमनमा विद्यालयका प्रधानाध्यापक चन्द्राबाबुलाई एक पटकको लागि सुधारको मौका दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४