वीरगन्ज। चितवनसँग सीमाना जोडिएको पर्साको ठोरी गाउँपालिकालाई प्रदेश २ को पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न दर्जन बढी पूर्वाधार निर्माण कार्य जारी रहेको छ।
गाउँपालिकाले पर्या पर्यटन, धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्यरुपमा ठोरीलाई विकास गर्न पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ।
वीरगन्जबाट ४५ किलोमिटर उत्तरमा पश्चिममा अवस्थित ठोरीमा गाउँपालिकाको आम्दानी वृद्धि र रोजगारीको स्थायी अवसर सिर्जना गर्न होम स्टे (गृहवा), भ्यु टावर, झोलुङ्गे पुल, वनभोज स्थल, जंगल सफारी, धार्मिक वन, मठ मन्दिर जीर्णोद्धार तथा 'फनपार्क' लगायतका पूर्वाधार निर्माण कार्य धमाधम जारी रहेको छ। ठोरी वडा नम्बर ३ ब्रह्मनगरमा ४ हेक्टर क्षेत्रफलमा १२ लाख रुपैयाँको लगानीमा मनोरञ्जनात्मक क्रिडास्थल निर्माण गरिन लागेको छ। साथै २ हेक्टर क्षेत्रफलमा वृक्षारोपण र गुम्बा निर्माण गरेर धार्मिक वनको रुपमा विकास गर्न लागिएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमाना अवस्थित भएकोले पर्या पर्यटनको आनन्द लिन भारतीयहरु सप्ताहन्तमा वर्षभरि नै घुमघाम गर्न आउने गरेका छन्। पर्याप्त पूर्वाधार र गन्तव्यको निर्माणपछि औपचारिक रुपमा नै पर्यटकीय गन्तव्यको मान्यता दिलाएर वृहदरुपमा पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए।
होमस्टेसँगै हात्ती सफारी पनि
मगर र तामाङ बाहुल्य बस्तीमा होमस्टे ९घर बास० सञ्चालनमा आइसकेको छ। सुवर्णपुरको तामाङ बस्तीमा होम स्टेको सफलतापछि गत भदौदेखि नौघरे टोलमा मगर समुदायको बस्तीमा 'होमस्टे' सञ्चालनमा ल्याइएको हो। ठोरीमा पचासवटा घरमा सञ्चालनमा ल्याइएको होमस्टेले २ सय पर्यटकलाई आवास सुविधा उपलब्ध गराइरहेको छ। गत फेब्रुअरीमा पर्सा राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती उपलब्ध गराएपछि ठोरीमा हात्ती सफारीसमेत सुरु गरिएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षमा राष्ट्रिय निकुञ्जमा जिप र हात्ती सफारी सञ्चालनका लागि सडकको ट्रयाक खोल्न २० लाख रुपैयाँ विनियोजन गरेर आवश्यक कार्य सुरु गरिसकेको छ।
ठोरीको इच्छानगरदेखि चीसापानी, पानीटंकी हुँदै गढवालाइनसम्म जिप सफारीका लागि सडकको ट्रयाक खोल्ने कार्य भइरहेको छ। गढवालाइनदेखि प्रसिद्ध धार्मिक पर्यटकीय स्थल रामभौरी भाठासम्म हात्ती सफारीसमेत सरु गरिएको छ। पूर्वमा गढवालाइनदेखि रामभौरीभाठासम्म, पश्चिममा पानीटंकीदेखि रामभौरीभाठासम्म र वडा नम्बर ४ मा अवस्थित सिकारीबासदेखि वडा नं २ मा अवस्थित इच्छानगरसम्म १६ किलोमिटर लामो सडक मर्मत र निर्माण कार्य गरिँदैछ।
राष्ट्रिय निकुञ्जबाहेक चुरे पहाड, सीता गुफा, रानीवन, वनशक्ति मन्दिर, बाघ मोर्चा माई मन्दिर, सिकारीवास, सेतु पहाड, रातु पहाड, सहिद पार्क ठोरीको मुख्य पर्यटकीय आकर्षण हुन्। सिनेही पर्वत, गोलेडाँडा, सेतो पहाड, उत्तरतर्फ चुरे शृङ्खला र दक्षिणतर्फको संसारी डाँडाका कारण तराई क्षेत्रमा अवस्थित भए पनि ठोरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
स्तरिय होटलको अभाव
पर्यटकको आवासका लागि ठोरीमा होमस्टे र सामान्य होटल सञ्चालनमा रहे पनि सुविधा सम्पन्न होटलको अभाव छ। 'अहिले भारतीय पर्यटक एक दिनको भ्रमणमा मात्र आउने गरेका छन्', स्थानीय शिक्षक प्रेम लामाले भने, 'पर्यटकीय पूर्वाधार निर्माणपछि पर्यटकलाई दुई देखि तीन दिनसम्मको भ्रमण प्याकेजमार्फत आकर्षित गर्न सकिने पर्याप्त सम्भावना छ।'