काठमाडौं - २०७५ नेपाली खेलकुद क्षेत्रका लागि मिश्रित रह्यो। अन्तर्राष्ट्रिय स्तरमा भएका खेलकुद गतिविधिमा नेपाली खेलकुद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले २०७५ लाई अविस्मरणीय बनाइदिएको छ। नेपाली क्रिकेटले एक दिवसीय क्रिकेटमा पाएको ऐतिहासिक सफलता, प्याराग्लाइडिङले १८औँ एसियाली खेलकुदमा दिलाएको रजत, शारीरिक सुगठनमा महेश्वर महर्जनले हासिल गरेको विश्वस्तरको स्पर्ण पदक तथा सन्दीप लामिछानेको एकपछि अर्को सफलता तथा नेपाली फुटबलर रोहित चन्द र किरण चेम्जोङ विदेशी लिगमा उत्कृष्ट खेलाडी घोषित हुनुले नेपाली खेलकुद क्षेत्रमा यस वर्ष नयाँ तरंग सिर्जना गर्यो।
२०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको दशरथ रंगशाला पनुर्निर्माण नहुँदा र नेपालले आयोजना गर्ने भनी तय गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) भौतिक संरचनाका कारण सर्दै जानुले नेपाली खेलप्रेमी र समर्थक निराश भए। बारम्बार सर्दै आएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन २०७६ वैशाख ५ गते र समापन ११ गते हुने भनिए पनि खेल भने २०७५ चैत २७ गतेबाट सुरु भएका छन्।
क्रिकेटमा ऐतिहासिक सफलता
क्रिकेटमा चामत्कारिक नतिजा आएपछि २०७५ ले ऐतिहासिक र सफल वर्षका रुपमा बिट मार्दैछ। डिभिजन दुईबाट सुरु भएको नेपालको यात्रा ‘एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यू’ सम्म पुग्यो। २०७५ मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपालले सिरिज जित्दै इतिहास रच्यो। युएईविरुद्ध भएको एकदिवसीय र टी–२० त्रिलकेट शृङ्खला जित्दै इतिहास रच्यो।
नेपालले दुवै सिरिज २–१ ले जितेको थियो। यसै वर्ष नेपाली टोली आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बन्यो। उक्त छनोटमा सिंगापुर र नेपालको समान ११–११ अंक भए पनि रनरेटका आधारमा नेपालले उपाधि जित्न सफल भएको थियो।
एकाएक हराएको नेपाली महिला टोलीले पनि यसै बर्ष दुई ठूला प्रतियोगिता खेल्यो। दुवै प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भए पनि नेपाली महिला टोलीको प्रदर्शन भने उच्च रहेको थियो। आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत छनोट हुन नसके पनि विना तयारीको नेपाली टोलीको प्रदर्शन लोभ लाग्दो थियो।
बारम्बारको राजनीतिक हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रतिबन्धमा परेको नेपाल क्रिकेट संघ (क्यान) को फुकुवा सझै हुन सकेन। तर नेपालका क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा उल्लेख्य सफलता हात पारे।
प्याराग्लाइडिङमा ऐतिहासिक रजत
नेपालले यसै वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा २९ खेलमा भाग लिएको थियो। नेपालबाट चार सयभन्दा बढी खेलाडी र पदाधिकारी इन्डोनेसिया पुगे। तर पदकको हिसाबले नेपालको इज्जत जोगाउने काम प्याराग्लाइडिङले मात्रै गर्यो। सरकारको लगानीबिनै प्याराग्लाइडिङका खेलाडीले रजत पदक जितेपछि झन्डा समाउन र बधाई दिन नेपालका खेल पदाधिकारीको होड चल्यो। एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामै पदक दिलायो। पदकको आशा गरिएका तेक्वान्दो, कराँते, बक्सिङ जस्ता खेलमा खाली हात फर्कंदा सामान्य तयारी र सरकारको खासै लगानी नभएको खेल प्याराग्लाइडिङले भने नेपालले नसोचेको पदक दिलायो।
प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत जित्न सफल भयो। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्यान्डको बैंककमा तेक्वान्दोमा रजत जितेकी थिइन्। त्यसपछिका १६ औँ संस्करणमा सहभागिता जनाउँदा नेपालले कास्यभन्दा माथि जान सकेको थिएन। नेपाललाई ऐतिहासिक पदक दिलाउन नेपाली टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टोलीले उत्कृष्ट प्रदर्शन गरे।
महेश्वरको सफलता
नेपालमा शारीरिक सुगठन खेल अहिले पनि व्यावसायिक हुन सकेको छैन। भुटानमा भएको एशियन च्याम्पियनसिपमा पदक जितेर महेश्वर महर्जनले खेलाली खेलकुदमा हलचल मच्चाए। उनले विश्व च्याम्पियनसिपमा स्वर्ण पदक चुमेर अर्को सफलताको सिँढी चढे। उनले थाइल्यान्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते। यसअघि श्याम श्रेष्ठले उक्त प्रतियोगितामा रजत पदक जितेका थिए।
फुटबलमा मिश्रित नतिजा
बीस वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आयो भने चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष सुरु भयो। लिग सुरु भए पनि रंगशाला निर्माण सम्पन्न नभएकाले सीमित समर्थकले मात्र फुटबलको मज्जा लिन पाए। त्यसो त रेलिगेसनको प्रावधान नहुँदा पनि लिगको रौनक पहिलेको जस्तो भएन।
व्यक्तिगततर्फ दुई नेपाली फुटबलरले यस वर्ष दुईवटा अवार्डसमेत जित्न सफल भए। रोहित चन्द नेपालमा भन्दा इन्डोनेसियामा बढी चर्चामा रहे। इन्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे। उनी खेलेको क्लब पर्सिजा जकार्ताले लिगको उपाधि जित्यो भने रोहित उत्कृष्ट खेलाडी बने। यसैगरी नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि तथा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे। माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा चुलिएको छ।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भने सोचेअनुसारको सफलता प्राप्त गर्न सकेन। बंगलादेशमा सम्पन्न साफ फुटबल तथा बंगबन्धु गोल्डकपमा सहभागिता जनाएको नेपालले साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा बंगबन्धु कपमा भने समूह चरणबाटै घर फर्कियो।
कुवेतसँग भएको दुई मैत्रीपूर्ण खेलमा नेपालले एक खेलमा बराबरी र एक खेलमा पराजित भयो। सोही समय कातारमा भएको यू–२३ एएफसी कप छनोटमा पराजित हुँदै समूह चरणबाटै बाहिरियो।
नेपाली महिला फुटबल टोलीलाई दक्षिण एशियालीस्तरमा सधैं पदकको विजेताका रुपमा हेरिँदै आइए पनि अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि उचाल्न सकेको छैन। आफ्नै घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भयो। तर, यस वर्ष महिला फुटबल टोलीले अहिलेसम्मकै ठूलो सफलता हात पार्यो। पहिलो पटिक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपालले छनोटको दोस्रो चरणमा पुग्यो। पहिलो चरणमा समान १–१ को बराबरी खेलेका नेपालले दोस्रो चरणमा तिनै राष्ट्र म्यानमार र भारतसँग समान ३–१ ले पराजित हुँदै घर फर्कियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४