काठमाडौं – सरकारले आज (मङ्गलबार) बाट विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्दै छ।
विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।
वैशाख ७ गतेसम्म विभिन्न चरणमा सातै प्रदेशमा सीप परीक्षण गरिनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको राष्ट्रिय सीप विकास समितिले वैदेशिक रोजगारीमा गई विभिन्न सीप आर्जन गरी फर्केका व्यक्तिको सीप परीक्षण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ। सीप परीक्षणमा सफल हुनेलाई सम्बन्धित सीपको तह–१ उत्तीर्ण बराबरको प्रमाणपत्र दिइनेछ।
बोर्डले गत मङ्सिर ११ गतेदेखि विभिन्न २० प्रकारका सीपको निःशुल्क परीक्षणका लागि आवेदन माग गरेको थियो। विभिन्न प्रकारका सीप प्रमाणीकरणका लागि ४६५ युवाले आवेदन दिएका थिए। सीप परीक्षणका सम्बन्धमा जानकारी दिन बोर्डले गत चैत २० देखि २६ गतेसम्म विभिन्न चरणमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४