काठमाडौं - आइसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३ दशमलव ४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए। यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए। मलेसियाका इजितले सर्वाधिक ३७ रन बनाए।
९३ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङ गरेको नेपाल उक्त १३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो। नेपालको जितमा रित गौतमले अविजित रहँदै सर्वाधिक ३९ रन जोडे। यस्तै आसिफ शेखले २६ तथा पवन शर्राफले १९ रन बनाए। ४२ रन हुँदा नेपालले पहिलो विकेट शर्राफको रुपमा गुमाएको थियो। त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए।
नेपालले मंगलबार प्रतियोगिताको चौथो खेलमा ओमानको सामना गर्ने छ। यसअघिको खेलमा डिएल मेथडका नेपाल युएईसँग १ रनले पराजित भएको थियो। हारसँग नेपालको विश्वकपमा पुग्ने सपना कठिन बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४