काठमाडौं- नेकपा पंक्तिमा निकै आशा गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको चन्द्रागिरी वार्ता हात्ती आयो हात्ती आयो फुस्सा साबित हुने लक्षण देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई सहभागी नगराइकोले वार्ता औचित्यहीन भएको नेकपाका एक नेताले बताए।
नेकपाको सांगठनिक एकीकरणमा काम अगाडि बढेको अपेक्षा गरिए एकीकरण कार्य काम अलिकति पनि अगाडि नबढेको स्रोतले बतायो।
अध्यक्षद्वय ओली र प्रचण्ड पार्टीको तल्लो तहको एकता टुंगो लगाउन चन्द्रागिरी पुगेका थिए । स्रोतका अनुसार अध्यक्षद्वय तल्लो तहको एकता टुंगो लगाउनका लागि पछिल्लो समय निकै गम्भीर बनेका छन् ।
उनीहरुले पार्टीका केही प्रभावशाली नेताहरु लिएर एकता टुंगो लगाउनेगरि गृहकार्य गरेको भए त्यसले सार्थक रुप लिने बताइएको छ। वार्तामा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी थिए। उनीहरुको सहभागिताले एकीकरणको अडकिएको गाँठो नफुकेको एक नेताले बताए।
व्यवसायी चन्द्र ढकालको निजी रिसोर्टमा उनीहरुले एक रात बिताएका थिए । उनीहरुबीच पार्टी एकीकरण विषयमा भन्दा पनि महासचिव विष्णु पौडलेको बालुवाटार जग्गा प्रकरणका विषयमा छलफल भएको थियो। पार्टीले विज्ञप्ति निकालेर त्यसको खण्डन गर्नुपर्ने विषयमा छलफल भएको थियो। तर पार्टीलेनै विज्ञप्ति निकाल्दा राम्रो नहुने निष्कर्षमा नेताहरु पुगेका थिए।
मापदण्ड परिवर्तन नगर्ने अडान
पार्टी एकीकरणका लागि यसअघि सचिवालयले एउटा मापदण्ड तयार गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले त्यसविपरीत प्रदेश कमिटी तथा तल्ला कमिटीमा आफ्ना मानिस नियुक्ति गरेपछि लामो समयदेखि एकीकरण रोकिएको छ।
मापदण्डअनुसार पार्टीका तर्फबाट राजकीय जिम्मेवारीमा रहेकालाई पार्टी कमिटीको मुख्य जिम्मेवारी नदिने निर्णय भएको थियो। नेपाल पक्षले भने मापदण्डविपरीत भएको निर्णय नसच्याउने भएपछि जिल्ला तथा प्रदेश कमिटीको समानान्तर सूची तयार गरेको थियो। सो पक्षले मापदण्ड तयार गरेर यस्तो सूची बनाएको स्रोतले दाबी गर्यो। सूचीमा ओली पक्षलाई समेत समेटिएको छ।
बालुवाटार जग्गा छानबिन गर्न अभियान
महासचिव विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललितँ निवासको जग्गा प्रकरणमा छानबिन गर्नका लागि तीन दर्जनभन्दा बढि केन्द्रीय सदस्यहरुले पार्टीभित्र अभियान चलाउने तयारी गरेका छन् । यसअघि अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरूले यो अभियान चलाउने तयारी गरेको एक नेताले बताए।
केही समयअघि पार्टीभित्र विधि सम्मत निर्णय नभएको भन्दै असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य डा. विजय पौडेल, जगन्नाथ खतिवडालगायत ४७ केन्द्रीय सदस्यहरुले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका थिए। अहिले तिनै नेताहरुले महासचिव पौडेलको जग्गा छानबिन गर्न पार्टीभित्र अभियान चलाउने तयारी गरेका छन् । यसका लागि उनीहरु निरन्तर छलफलमा जुटेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४