काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा देशबाट सबैखाले अतिवाद समाप्त पार्ने घोषणा गरेका छन् । नववर्ष २०७६ का अवसरमा आइतबार प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले समृद्धिको बाधक तत्व र अतिवादहरुलाई समाप्त पार्ने घोषणा गरेका हुन् ।
सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई शीघ्र मुक्त गराइने, लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अवाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गर्ने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीले सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लडिरहने सङ्कल्प गरे । उनले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
समृद्धि सुखको आधार भएको, उच्च र दिगो उत्पादन/उत्पादकत्व वृद्धिप्रति वर्तमान सरकारको एक मात्र उद्देश्य भएको बताउँदै प्रधानमन्त्रीले सामजिक न्याय सहितको समुन्नति आफूले चाहेको बताए ।
पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सबै नेपालीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले यसै कार्यकालमा देशलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्ने, सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउने लक्ष्यका साथ काम गरिरहेको बताए।
सुशासन कायम गर्न वर्तमान सरकार गम्भीर भएर लागेको तथा गत साल आफूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आफू दृढ रहेको बताए।
प्रधानमन्त्रीले भने “सुशासन, परिष्कृत तथा मर्या्दित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रमहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४