काठमाडाैं- विक्रम संवत्को नयाँ वर्ष । नयाँ सुरु भएसँगै हामी सबैमा नयाँ ऊर्जा थपिन्छ । विगतको भन्दा नयाँ काम गर्ने अठोट पलाउँछ । त्यसैले धेरै व्यक्ति 'न्यु इयर रिजोलुसन' अर्थात् नयाँ वर्षका लागि नयाँ संकल्प गर्छन् । नेपालमा मात्र हैन विश्वभरका मानिसमा यस्तो प्रवृत्ति छ ।
भनिन्छ, संसारका करिब ९ प्रतिशत व्यक्तिको नयाँ वर्षको संकल्प पूरा हुन्छ । क्षणिक आवेग वा ढिलासुस्ती, वास्तविक संकल्प पहिचान गर्ने नसक्नु, संकल्प गरेका विषयप्रति बिस्तारै रुचि घट्नु जस्ता कारण अठोट पूरा हुन सक्दैनन् । व्यक्तिका हरेक चाहना हुन्छन् । ती पूरा गर्न संकल्प गर्नु स्वाभाविकै हो । त्यसैले संकल्प पूरा गर्न के गर्ने त ?
सकारात्मक सोचाइ
मानिस व्यस्त जीवनबाट केही समय भए पनि खुसी हुन चाहन्छ । तर खुसी के कुरामा पाइन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आफूलाई बढी सन्तुष्टि जेमा मिल्छ त्यसमा केन्द्रित हुनु आवश्यक छ । आफ्ना कमीकमजोरी हटाउन सके जीवन थप रमणीय हुन सक्छ ।
स्वस्थ्य खाना र व्यायाम
शरीर र मन स्वस्थ राख्न खानेकुरामा बढी ध्यान दिनुपर्छ । अचले विभिन्न कारणले गर्दा खाना स्वस्थकर हुन सकेको छैन । यस कारण आफ्नो स्वास्थ्यको ख्याल गरी सन्तुलित खाना खानुपर्छ । साथै योग, ध्यानसहित शारीरिक व्यायाम गर्न भुल्नु हुँदैन ।
धूमपान र मद्यपान त्याग्ने
'नयाँ वर्ष लागेपछि रक्सी खान्नँ' मादक पदार्थका अम्मली धेरैले भन्ने भनाइ हो यो । तर भनेअनुसार गर्ने निकै थोरै मात्र हुन्छन् । यद्यपि धूमपान र मद्यपानबाट परै बस्नुपर्ने संकल्प पूरा गर्नुपर्छ ।
मितव्ययी हुने
भनिन्छ, मानिस पैसा कमाउन नसकेर होइन कमाएको पैसा चलाउन नसके गरिब हुन्छ । बढी पैसा खर्च गर्ने बानी नियन्त्रण गर्नु अर्को राम्रो संकल्प हो । एक पलमै टन्न हुने पैसा एक पलमै सकिन्छ । यस कारण पनि, मितव्ययी अर्को सबल संकल्प हुन सक्छ ।
एकत्रित र वास्तविक लक्ष्य
धेरै मानिसहरू नयाँ वर्षमा विभिन्न काम गर्ने संकल्प गर्छन् । तर संकल्प पूरा गर्ने असाध्यै कम हुन्छन् । धेरै संकल्पले मानिसलाई भुमरीमा पार्छ । एउटा वा थोरै संकल्प गर्नुपर्छ, जुन पूरा गर्न सकियोस् ।
अधुरा कामलाई पूर्णता दिने
नयाँ वर्षमा अघिल्ला वर्षमा के कति काम गर्न सकियो तिनको समीक्षा गर्नु जरुरी हुन्छ । त्यसपछि नयाँ संकल्पन गरेर त्यसलाई पूर्णता दिन लाग्नुपर्छ । अधुरा काम सम्पन्न गर्दा छुट्टै आनन्द मिल्छ ।
सामाजिक सञ्जालमा कम संलग्न हुने
सामाजिक सञ्जालले हाम्रो जीवनलाई निकै व्यस्त बनाएको छ । सामाजिक सञ्जालमा बढी संलग्नताले वास्तविक जीवनको आनन्द हराउँछ । यस कारण पनि 'भर्चुअल लाइफ' बाट निस्कनु आवश्यक हुन्छ ।
करिअर अघि बढाउने
मानिसले चिन्ता लिने विषय नै 'भविष्य' हो । यसकारण नयाँ वर्षमा आफ्नो भविष्यलाई कसरी सुमधुर बनाउने भनेर गम्भीर हुनुपर्छ । अब आउने ५ वर्षमा आफूलाई कुन स्थानमा कसरी राख्ने विषयलाई गम्भीर रुपमा लिनुपर्छ ।
अतिरिक्त क्रियाकलाप गर्ने
नयाँ वर्षमा केही भिन्न तथा अतिरिक्त क्रियाकलाप जसले नयाँ अनुभव लिन सकिन्छ । आफ्नो 'कम्फर्ट जोन' अर्थात् सजिलो र जुन कुरा सहज छन् ती भन्नाभिन्नै रहेर आफूलाई असहज लाग्ने क्रियाकलाप गर्ने नसकेमा नयाँ आभास र उत्साह पनि पाइन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४