बुधबार, साउन २०, २०८३

नयाँ वर्षमा घुम्‍नलायक १० ठाउँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मान्छे प्रकृतिसँग रम्न रुचाउने प्राणि हो। नयाँ–नयाँ गन्तव्यको खोजी गर्दै रमाउनु मानव स्वभाव नै हो। फुर्सद मिल्दा व्यस्त जीवनबाट आक्रान्त बनेको मान्छे प्रकृतिकै काखमा टहलिन रुचाउँछ र प्रकृतिकै काखमा पुग्छ विश्राम लिन। यति बेला पनि धेरै जना नयाँ गन्तव्यको खोजी गर्दै नयाँ वर्षलाई स्वगत गर्ने योजनामा हुन सक्छन्।

व्यस्त दैनिकीबाट आक्रान्त बनेका मान्छेहरु नयाँ वर्षलाई नयाँ ऊर्जाका साथ स्वागत गर्न चाहन्छन्। नयाँ वर्षमा मान्छेमा नयाँ उमंग हुन्छ। नयाँ योजना हुन्छ। वर्षभरिको कार्यव्यस्तताले थकित मान्छे नयाँ वर्षलाई नयाँ स्थानमा घुमफिर गर्दै रमाइलोसँग मनाउने योजनामा हुन्छन्। यदि तपाइहरु त्यही सोचमा हुनुहुन्छ र रमाइलो गन्तव्यको खोजीमा हुनुहुन्छ भने २०७६ मा यी स्थान उपयुक्त गन्तव्य हुन सक्छन्।

पोखरा

नेपालको मध्यभागमा अवस्थित पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। अत्यन्त सुन्दर नगरी पोखराबाटै चैत ३० गते शनिबार २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ गरिएको छ। पोखरालाई पर्यटकहरुका लागि निकै उपयुक्त गन्तव्यको रुपमा लिइन्छ। यहाँ बर्सेनि लाखौंको संख्यामा पर्यटकहरु आउने गर्छन्। पोखराको मुटुमा अवस्थित फेवाताल र फेवातामा देखिने माछापुच्छ«े हिमालको छायाले जोकोहीको मन लोभ्याउने गर्छ। रुपाताल, बेगनास ताल, चमेरे गुफा, डेभिड फल्स, गुप्तेश्वर महादेवलगायत पोखराका घुम्न लायक ठाउँ हुन्। प्याराग्लाइडिङ पोखराका लागि पर्यटक भित्र्याउने अर्को माध्यम हो। प्याराग्लाइडिङमा रम्नकै लागि यहाँ थुप्रै पर्यटक आउने गर्छन्।

सौराहा

चितवनको प्रमुख पर्यटकीय गन्तव्य हो सौराहा। साहसिक पर्यटन र वाइल्ड लाइफप्रति रुचि राख्ने पर्यटकका लागि सौराहा प्रमुख गन्तव्य मानिन्छ। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ। सौराहाको जंगलमा नेपालमा मात्र पाइने एकसिङ गैंडासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न सकिन्छ।

राराताल

कर्णाली भन्नेबित्तिकै तपाईंको पहिलो रोजाइ रारा ताल हुन सक्छ। उसो त मौसमका हिसाबले पनि रारा पुग्नका लागि उपयुक्त समय हो यो। रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक ताल हो।  नेपालकै सबैभन्दा ठूलो ताल रारा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहबाट १० हजार फिट उचाइमा रारा ताल छ। ताल वरिपरि घुम्न ट्रेकिङ रुट छ। सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न देखिन्छ। राराबाट फर्किएपछि तपाईंले जुम्लाको सिञ्जा उपत्यका घुम्न सक्नुहुन्छ। जुन नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले परिचित क्षेत्र हो।

माथिल्लो डोल्पा र से–फोक्सुन्डो

पैदल यात्रा र प्रकृतिसँग रमाउन चहानेका लागि माथिल्लो डोल्पा उपयुक्त गन्तव्य हो। गर्मी सयम सुरु भए पनि माथिल्लो डोल्पातिर अझै हिउँ पग्लिएको छैन। नयाँ वर्षमा तपाईं अग्ला लेकहरुमा हिउँ खेल्दै रमाइलो गर्न सक्नु हुनेछ। ट्रेकिङमा रुचि राख्नेका लागि माथिल्लो डोल्पा स्वर्गजस्तै हो। उच्च हिमाली भेग, रमणीय फाँटहरु माथिल्लो डोल्पामा सधैंका लागि भर्जिन छन्। तर सानो दुःखले डोल्पामा पुग्न सकिँदैन। त्यस्तै डोल्पाकै डोल्पाको से–फोक्सुन्डो ताल नयाँ वर्षका लागि अर्का महत्त्वपूर्ण गन्तव्य हो।

लुम्बिनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। लुम्बिनी बुद्धकै जन्मस्थलको नामबाट नामकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मावलम्वीहरुको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएका कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ। यो विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि प्रमुख गन्तव्य हा। लुम्बिनीमा रहेको अशोक स्तम्भ, मायादेवीको मन्दिर, बौद्ध बिहार आदि हेर्नलायक छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज तराईका जिल्लाहरुमा भएका निकुञ्ज मध्येको सबै भन्दा ठूलो निकुञ्ज हो। नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा यो निकुञ्ज फैलिएको छ। यो निकुञ्जमा कर्णाली र बबई नदीका केही भागसमेत पर्छन्। निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगल छन् भने तराईको धेरै जसो भाग सालको जंगलले ढाकेको छ। बीचबीचमा यो निकुञ्जभित्र घाँसेमैदानसमेत छ। वन्यजन्तु अवलोकनका लागि यो गन्तव्य प्रमुख मानिन्छ। पटे बाघ, एक सिङे गैंडा, चितुवा, घोडगघा, जरायो, चित्तल, लगुना, बह्रसिंगा र हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु तथा ४३८ प्रजातिका रैथाने र बसाइँ सरी आउने तराहरु यस निकुञ्जमा पाइन्छन्।

खप्तड

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल हो। समुद्री सतहबाट ३ हजार ५ सय मिटर उचाइमा रहेको खप्तड २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो। यहाँ खप्तड बाबाले ५० वर्ष तपस्या गरेर बिताएका थिए। यस क्षेत्रमा खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह, खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पति र चराचुरुंगीहरु पाइन्छन्। ५ सय ६७ थरीका वनस्पतिहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगीमध्ये २ सय ६० भन्दा बढी चराचुरुंगीहरु यसै क्षेत्रमा पाइन्छन्। खस्रेभ्यागुता र बझाँगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो पनि यहाँ पाइन्छ। बाह्रै महिना पानीको सतह एकै नासको रहनु यहाँको विषेशता हो। खप्तड दहसँगै यहाँ ५२ वटा ताल (दह) छन्। साना ठूला गरी खप्तडमा २२ वटा फाँटहरु रहेका छन्। ति फाँटका बिचमा स–साना खोला अनि त्यसमाथिका काठे पूलका दृश्यले स्वगकै आभाष गराउँछ।

इलाम

इलाम चियाका लागि प्रसिद्ध स्थान हो। इलाम पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। नेपालको पूर्वी भेगमा अवस्थित इलामका रमणिय वातावरण, डाँडाकाँडा हरियाली चियाबारी, थुम्काथुम्की र बुट्यानहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई मनमोहक पार्दछ। हरिया चिया बगानका बिचमा अवस्थित चिल्ला सडकमा पैदल हिंड्न तथा गाडिमा शयर गर्नमा बेग्लै आनन्द मिल्दछ। चिया बाहेक छुर्पीको लागि पनि इलाम प्रसिद्ध छ।

नगरकोट

नगरकोट राजधानी काठमाडौं नजीकैको प्रसिद्ध रमणिय पर्यटकिय स्थल हो। नगरकोट काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको छ। नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ।

ककनी

ककनी पनि राजधानी नजिकैको आकर्षक पर्यटकिय गन्तव्य हो। ककनी नुवाकोट जिल्लामा पर्छ। यो काठमाडौंबाट २० किलोमिटर दूरीमा छ। यो स्थान समुद्री सतहबाट २२०० मिटरको उचाइमा छ। यो ठाउँ स्टेबरीको पनि लागि प्रसिद्ध छ। त्यसैगरी ट्राउट माछा खान मन पराउनेहरुका लागि पनि यो उपयुक्त गन्तव्य हो। काठमाडौंबाट एक रात बस्ने वा उही दिन गएर आउनका लागि यो एउटा राम्रो घुमघाम गर्ने स्थान हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।