वीरगंज – महानगरलाई व्यवस्थित बनाउन शुरु गरिएको नागरिक अभियान व्यवस्थित वीरगंजले विद्यालय लक्षित सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।
सार्वजनिक सम्पत्तिको महत्व बुझाउँदै संरक्षणको लागि उत्प्रेरित गर्ने उद्देश्यले सचेतना अभियान संचालन गर्न लागिएको हो।
प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर प्रदेश २ मा एसइई परिक्षा रद्ध भएपछि आक्रोशित विद्यार्थीले विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नुका साथै शिक्षण संस्थामा आक्रमण गरेका थिए। तोडफोडका कारण एक करोड रुपैयाँ भन्दा बढीको सार्वजनिक र निजी सम्पत्ति नोक्सान भएको अनुमान गरिएको छ।
विद्यार्थीहरूको लागि ‘आफ्नो शहर, आफैं बनाऔं’ नाराका साथ विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिने संयोजक दिलिप कार्कीले जानकारी दिए। साथै टोलटोलमा साताव्यापी वृत्तचित्र प्रदर्शन मार्फत् ट्राफिक नियमका विषयमा जानकारी गराउने निर्णय शुक्रबार सम्पन्न अभियानको बैठकले गरेको छ। कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरेर विद्यालयस्तरमा सचेतना कार्यक्रमको आयोजना गरिने भएको हो।
लक्षित समूहलाई वृत्तचित्रमार्फत् सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी र व्यवस्थापकीय समस्याका बारेमा अवगत गराएर आगामी दिनमा हुने क्षति न्यूनीकरणको पहल गरिने संयोजक कार्कीले जानकारी दिए।
विगत सात महिनादेखि नगरको यातायात र सरसफाई व्यवस्थापन प्रभावकारी बनाउन अभियान संचालन गरिंदै आएको छ।अभियानमा जिल्ला प्रशासन, प्रहरी, सामाजिक संस्था, स्वयमसेवीलगायतको सहभागिता रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४