काठमाडौं - काठमाडौं महानगरपालिकाले धुलो बढार्ने आधुनिक मेसिन ब्रुमरबाट दुई साता अवधिमा २४१ टन धुलो संकलन गरेको छ। महानगरका सहरमा अत्यधिक धुलो उडेर जनजीवन कष्टकर भएपछि त्यसको व्यवस्थापनका लागि गत चैत १२ गते पाँचवटा ब्रुमर ल्याएको थियो।
अहिलेसम्म एक सय ३४ टन धुलो संकलन भएको महानगरको वातावरण प्रशासन शाखा प्रमुख सरस्वती पोखरेलले बताइन्। उनका अनुसार ब्रुमर चैत १३ गतेदेखि प्रयोग गर्न थालिएको थियो।
राजधानीका मुख्य सडक रत्नपार्क, सुनधारा, जमल क्षेत्रमा धेरै जम्मा हुने गरेको छ। ब्रुमर प्रयोग गर्दा यी क्षेत्रमा चाँडै भरिने गरेको पोखरेलले बताइन्। यी क्षेत्रमा धराहरा, दरबार हाईस्कुल, वीर अस्पताल भवन निर्माण भइरहेकाले सडकमा बढी धुलो जम्मा हुने गरेको छ। कोटेश्वर–बालकुमारी रुट, कोटेश्वर–भक्तपुर, विष्णुमती–सोह्रखुट्टे रुटमा पनि ब्रुमर चाँडै भरिने गरेको छ। ब्रुमरमा भरिएको धुलो टिपरमा लोड गरी टेकुस्थित ल्यान्डफिल्ड साइटमा पुर्याइन्छ।
सोल्टी मोड र थापाथली क्षेत्रमा भने अन्य क्षेत्रमा भन्दा ब्रुमर ढिलो भरिन्छ। ब्रुमरमा एक चालक र एक अपरेटर हुन्छन्। साथै एउटा ब्रुमरमा दुई सुरक्षाकर्मी खटिएका छन्।
कुन दिन कति धुलो संकलन ?
पानी परेका कारण चैत १२, १७ र २४ गते बु्रमर सञ्चालन हुन सकेन। चैत १३ गते १८ टन धुलो संकलन भएको थियो। त्यसपछि १४, १५, १६, १९ र २१ गते २१–२१ टन धुलो संकलन भएको थियो। २३ गते सबैभन्दा थोरै १० टन धुलो संकलन भएको छ। चैत १६ गते १२ टन धुलो संकलन भएको थियो। यस्तै चैत २५ गते २४ टन धुलो संकलन भएको थियो। साविक दिनको तुलनामा २६ र २७ गते १९ र १४ टन क्रमशः धुलो संकलन भएको छ।
समस्या
जथाभाबी पार्किङ र सडकमा निर्माण सामग्रीले थुपारिएकाले रातिको समयमा काम गर्न कठिन हुने गरेको विभाग प्रमुख पोखरेलले बताइन्। खाल्डाखुल्डी सडकका कारण पनि समस्या देखिएको छ।
यस्ता छन् ब्रुमरका रुट
रुट १ :
त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जुद्ध सालिक, महाकाल। भोटाहिटी, जमल, त्रिचन्द्र कलेज, कमलादी गणेशस्थान, कमलादी चोक, सोही रुट फर्किएर त्रिचन्द्र, बागबजार लाइन, पुतलीसडक, पुरानो बसपार्क, प्रदर्शनीमार्ग, सोही रुट फर्केर भद्रकाली, सहिद गेट हँुदै एनएसी र त्रिपुरेश्वरसम्म।
रुट २ :
टेकु, कालीमाटी, बल्खु, सोल्टिमोडसम्म, त्रिपुरेश्वर, थापाथली, माइतीघर, पुतलीसडक पुगेर सोही रुट फिर्ता।
रुट ३ :
जमल, कान्तिपथ, त्रिदेवीमार्ग, नारायणहिटी दक्षिण गेट, जय नेपाल, नागपोखरी, गैरीधारा, नारायणहिटी उत्तर गेट, खानी विभाग चोकबाट फर्केर नारायणहिटी संग्रहालयको दक्षिण गेट, महेन्द्र सालिक, अमेरिकन पुस्तकालय हुँदै जमल–केशरमहल, लैनचौर, मल्ल होटल, सरस्वती क्याम्पस फर्केर लैनचौर, खानी विभाग चोक, भारतीय दूतावस फर्केर खानी विभाग चोक, लाम्जिपाट, पानीपोखरी, शीतल निवास, चत्रपथ चोक, न्युरो अस्पताल गेटबाट फर्केर महारागन्ज चोक, शीतल निवास, लाम्जिपाट, राहदानी विभागसम्म।
रूट ४ :
माइतीघर, सिंहदरबार दक्षिण गेट, अनामनगर, वैद्यखाना हँुदै पुतलीसडक सोही रुट फर्केर माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँबानेश्वर, मीनभवन, तीनकुनेसम्म सोही रुट फर्केर कोटेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, होटल हायातबाट फर्केर गौशाला, बत्तीसपुतली लाइन, गौशाला, एयरर्पोट, तीनकुने, मीनभवन हुँदै माइतीघरसम्म।
रुट ५ :
कमलपोखरी (कृष्ण पाउरोटी), सिटी सेन्टर, जैन मन्दिर दायाँबायाँ, चारखाल लाइन, डिल्लीबजार चोकबाट फर्केर जैनमन्दिर चोक, नक्साल भगवती मन्दिर बायाँ हुँदै नागपोखरी फर्केर नक्साल भगवती मन्दिर, बाल मन्दिर चोक, प्रहरी प्रधान कार्यालयअगाडि हुँदै नारायण चौर वरिपरि र बाल मन्दिर चोकबाट छाते गणेश चोक, गैरीधारा, टुकुचाबाट फर्केर छाते गणेश चोक, भाटभटेनी, बालुवाटार, सभामुख निवास लाइन, खुर्सानीटार हुँदै गैरीधारा चोकबाट फर्केर बालुवाटार, कामपा ३ नं. वडा कार्यालयबाट फर्केर बालुवाटार हुँदै प्रधानमन्त्री निवास लाइन, रसियन दूतावास, पवित्र वर्कसप, कामपा ३ नं. वडा कार्यालयबाट फर्केर बालुवाटार हुँदै नक्साल भगवती मन्दिर, सानो गौचरण दायाँबायाँ, जर्मन दूतावास हुँदै ज्ञानेश्वर चोकबाट दाहिने हुँदै जैन मन्दिरबाट फर्किएर ज्ञानेश्वर चोक, गौशाला चोक, फर्केर मैतीदेवी मान्दिर लाइन दायाँबायाँ भएर मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर, सिनामंगलसम्म। अनि सोही रुट फर्केर पुरानो बानेश्वर, नयाँ बानेश्वर पानीट्यांकी फर्केर पुरानो बानेश्वर, सेतो पुल, मैतीदेवी, डिल्लीबजार हुँदै पुतलीसडक चोकसम्म दायाँबायाँ।