धनगढी – सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर पुर्नवास नगरपालिका ११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको गस्ती टोलीले नेपाल भारत सीमा नजिकै कञ्चनपुरको पुर्नवास नगरपालिका ११ नमुना इँटाभट्टा क्षेत्रबाट भरुवा बन्दुकसहित शनिबार बिहान शाहीलाई पक्राउ गरेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देव बहादुर चन्दले जानकारी दिए।
उनका अनुसार शाही बन्दुक लोड गरेकै अवस्थामा पक्राउ परेका हुन्। शाहीबाट ६५ वटा सिसाको गोलीसमेत बरामद गरिएको छ। शाहीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाईएको चन्दले जानकारी दिए। शाही केही समयदेखि सिकार खेल्दै आएका बुझिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४