काठमाडौं – नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करीब तीन अर्ब खुद नाफा गर्न सफल भएको छ। विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो। महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो।
महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ। आव २०७२/७३ मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो।
गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ। विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ।
कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४/७५ मा रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो।
वि.सं. २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो। उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य मात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन्।
घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३/७४ मा प्राधिकरणले एक अर्ब ४६ करोड ७३ लाख खुद नाफा कमाएको थियो। आव २०७४/७५ मा नाफा बढेर झण्डै रु तीन अर्ब पुगेको छ।
विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौती अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो। प्राधिकरणको शेयर पूँजी एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व करीब एक खर्ब २० अर्ब ९५ करोड र चालू दायित्व करीब ८४ अर्ब ७८ करोड समेत कूल पूँजी तथा दायित्व दुई खर्ब ८४ अर्ब ५७ करोड २१ लाख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४