काठमाडौं – खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ। मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न मन्त्रालयले पाँच आयोजनालाई प्राथमिकता दिएको हो।
खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन्।
मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भईरहेको छ। खानेपानी मन्त्रालयका अनुसार यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ। ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुनेछन्।
कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ। खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ। यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ।
त्यसैगरी करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ। मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन्।
मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ। यस आयोजनाको डीपीआर तयार भइसकेको छ। आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ।
त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ। यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ। कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरुमा चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ।
सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ। पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४